

हेटौंडा । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन । दसै, तिहार र छठ पर्वको मौका छोपी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी कारवाही गरेर यात्रुलाई बढी भाडा वापतको रकम फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चाडपर्व अवधिभर ५८ सवारी साधनबाट ४४० जना यात्रुको बढी भाडा वापत एकलाख १३ हजार ६७० रुपियाँ यात्रुलाई फिर्ता गराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता,सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । बागमती प्रदेश मातहतका जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिएको उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा अवैध रूपमा ओसारपसार गर्दै गरेको १२ हजार ९६५ के.जी. चिनी,. ९ लाख ४६ हजार ४२० मुल्य बराबरको कुर्ता, सलवार, साडी प्रहरीले बरामद गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा चाडपर्वको बेला पटका, आतिसबाजी, प्रज्वलनशिल तथा विष्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ । प्रहरीले ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटका, आतिसबाजी जस्ता पदार्थ बरामद गरेको हो ।
त्यस्तै अपराध अनुसन्धान तथा कारवाही तर्फ ३०९ वटा कसूर दर्ता भएकोमा १९९ जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिन्धुलीबाट जुवा कसूरमा १०८ जनाको साथबाट १६ लाख ८९ हजार ५२९ बरामद गरि कानून बमोजिम अनुसन्धान कारवाही भैरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
त्यस्तै चाडपर्व अवधिभर १५६ सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने ३५१ जना घाईते हुनुभएको छ । प्रहरीले ५९ हजार ७३२ वटा सवारी कार्वाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० जरिवाना संकलन गरेको छ । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्