हेटौँडा । सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सरकार मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा लागिरहेको बताएकी छिन ।

मकवानपुरको मनहरी गाउँपालिका ५ मा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको तेस्रो दिन पर्सा राष्ट्रिय निकुञ्जले मङ्गलबार हेटौँडामा आयोजना गरेको मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी कार्यक्रममा उनले यस्तो बताइन ।

उनले वन्यजन्तुलगायत प्राकृतिक सम्पदाको संरक्षण र विकासको बिच सन्तुलन मिलाउनु आवश्यक छ भन्दै निकुञ्जबाट प्राप्त हुने राजस्व न्यायोचित रुपमा वितरण हुनुपर्नेमा जोड दिए।

उनले अहिले भएको निकुञ्जसम्बन्धी ऐन र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली नागरिकमैत्री र संरक्षणमैत्री बन्न नसकेको बताउँदै निकुञ्जसम्बन्धी ऐन कानुन संशोधनको तयारीमा सरकार लागेको बताए।

बागमती प्रदेश सभामा सदस्य एका लाल श्रेष्ठले मध्यवर्ति क्षेत्रमा दोहोरो शासन रहेको भन्दै नागरिकलाई अलग राखेर वन्यजन्तु संरक्षण सम्भव नभएको बताए ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जको अवस्थाका बारेमा जानकारी दिँदै वन्यजन्तु र मानवबिचको द्वन्द्व कम गर्ने गरी निकुञ्जसम्बन्धी ऐन कानुन निर्माण गर्नुपर्ने बताए।

तराई भूपरिधिमा एकराज सिग्देलले मध्यवर्ति क्षेत्रमा निर्माण हुने विकास आयोजनामा स्थानीय तहसँग समन्वय आवश्यक भएको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश चन्द्रवंशीलगायतले वन्यजन्तुको संरक्षणसँगै मध्यवर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए ।

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज/मध्यवर्ति क्षेत्र व्यवस्थापनसम्बन्धी विधमान कानुनी प्रावधानहरुको समिक्षा एवम् सुधारका विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजित उक्त नीति संवाद कार्यक्रममा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा वडाध्यक्ष, वन समूहका अध्यक्षलगायतका वक्ताहरुले निकुञ्ज ऐनमा संशोधनको माग गरे ।