हेटौँडा । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा मङ्गलवार हेटौँडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र केही पीत पत्रकारितामार्फत गलत एवम् भ्रमपूर्ण सूचना तथा समाचारहरु प्रकाशन, प्रसारण भइरहेको सन्दर्भमा जनमानसमा अन्यौलता सिर्जना भएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भिम पाख्रिनले देश समाजवाद उन्मुख प्रकृयामा रहेकाले यससँग सम्बन्धीत आधारहरु अबको पत्रकारिताको विषयवस्तु बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले समाजमा नकरात्मक सूचनाहरुको प्रभाव बढ्दै गइरहेकाले पत्रकारिताले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोज ढोडारीले प्रेस सेन्टर मकवानपुरका संस्थापक दिवंगत कौशल पाण्डेको स्मरण गरे । दिवंगत पाण्डेको योगदानका कारण सेन्टर मकवानपुरले हालको गरिमा प्राप्त गरेको उल्लेख गर्दै उनले स्वर्गीय पाण्डेको योगदानका बारेमा चर्चा गरे ।

यस्तै, प्रेस सेन्टर बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारले प्रविधिको विकाससँगै छिटो सूचना तथा समाचार प्रदान गर्ने क्रममा पत्रकारितामा कमजोरीहरु हुने गरेको उल्लेख गर्दै पत्रकारिता जगत् यस सम्बन्धमा सधैं समीक्षा गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, प्रेस युनियन मकवानपुरका सचिव बलराम पुडासैनी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौंलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठको सञ्चालन गरेको कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय अनुशासन समिति सदस्य भानुभक्त आचार्य, बागमती प्रदेश समिति सदस्य भावना रिजाल, मिना श्रेष्ठ, प्रेस सेन्टर मकवानपुरका निवर्तमान अध्यक्ष अञ्जली थापा, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबासहितको उपस्थिति थियो । कार्यक्रम प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एम पी शर्माको अध्यक्षतामा भएको हो ।