दलबाट उम्मेदवार बन्नुभएका महालक्ष्मी उपाध्याय डिना र विद्या श्रेष्ठ (महर्जन) ।

हेटौँडा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या ज्यादै न्यून देखिएको छ । दुई निर्वाचन क्षेत्रमा ४४ जनाले उम्मेदवारी दिँदा महिलाहरू ७ जना मात्रै छन् ।

निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना उम्मेदवारले उम्मेदवारी दिएकोमा ५ जना महिला र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दिएकोमा २ जना मात्रै महिला उम्मेदवार रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ
(महर्जन), नेपाल मजदुर किसान पार्टीबाट रंजना सुवाल मगजु र स्वतन्त्रबाट शुसिला सुवेदी, प्रमिला कुमारी खतिवडा उम्मेद्वार बनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारद्वय सितामाया बल र प्रतिक्षा बानियाँ रहेका छन । निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेकोमा महिला एकलाख ५३ हजार ३७६, पुरुष एकलाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् ।