हेटाैँडा । मकवानपुर प्रहरीले ३ ग्राम २८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको टोलीले बकैया गाउँपालिका– ७ स्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे बकैया गाउँपालिका–७ निवासी ३४ वर्षीय विजय भोलनको घरमा शंकास्पद गतिविधि भइरहेको सूचनापछि प्रहरीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा लुकाइछिपाई राखिएको अवस्थामा ३ ग्राम २८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनास्थलबाट बकैया–७ का ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया–३ का ३४ वर्षीय संजीव लामा तथा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ निवासी १९ वर्षीय विजय मोक्तानलाई पक्राउ गरेको छ।
पक्राउ परेका चारैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्