हेटाैँडा । हेटौँडाको फुर्केचौरस्थित एउटा सामान्य घरबाट सुरु भएको उषा खतिवडा पराजुलीको सपना आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ। उनको यात्राको विशेषता केवल विदेशमा उच्च शिक्षा हासिल गर्नुमा सीमित छैन। उनको सफलताको असली अर्थ त्यहाँबाट फर्केर आफ्नै देशका लागि केही गर्ने चाहनामा लुकेको छ।

सरकारी विद्यालयको कक्षाकोठाबाट सुरु भएको उनको संघर्ष अहिले हजारौं विद्यार्थीका लागि प्रेरणाको कथा बनेको छ। सीमित स्रोतसाधन, सामान्य पारिवारिक पृष्ठभूमि र ग्रामीण परिवेशबीच हुर्किएकी उषाले कहिल्यै आफ्नो सपना सानो बनाइनन्।

उनले आफ्नो प्रारम्भिक शिक्षा हेटौंडास्थित बंशगोपाल प्राविधिक विद्यालयबाट हासिल गरिन्। सरकारी विद्यालयमा पढ्ने धेरै विद्यार्थीहरूमा ‘हामी पछि पर्छौं’ भन्ने मानसिकता देखिने गरे पनि उषाले त्यो सोचलाई कहिल्यै स्वीकार गरिनन्। पढाइप्रतिको लगाव र निरन्तर मेहनतले उनलाई मकवानपुर बुहुमुखी क्याम्पससम्म पुर्‍यायो, जहाँ उनले विज्ञान विषय अध्ययन गर्दै उत्कृष्ट नतिजा ल्याइन्।

विज्ञान अध्ययनसँगै उनको सपना अझ स्पष्ट हुँदै गयो कि उनी इन्जिनियर बन्न चाहन्थिन्। यही सपना बोकेर उनी काठमाडौं पुगिन् र कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरिन्। तर उनका लागि इन्जिनियरिङ केवल जागिर वा डिग्री प्राप्त गर्ने माध्यम थिएन। उनी समाजका लागि काम गर्न सक्ने एउटा जिम्मेवारीपूर्ण पेशाका रूपमा यसलाई हेर्थिन्।

२०७२ सालको भूकम्पले देशभर हजारौं विद्यालय भवन ध्वस्त बनायो। धेरै बालबालिका असुरक्षित टहरामुनि पढ्न बाध्य भए। त्यही कठिन समयमा उषाले साइट इन्जिनियरका रूपमा विद्यालय पुनर्निर्माणमा काम गर्ने अवसर पाइन्। विभिन्न जिल्लामा पुगेर उनले भूकम्पपीडित विद्यालयहरूको पुनर्निर्माणमा योगदान दिइन्।

त्यो अनुभव उनका लागि केवल प्राविधिक अभ्यास थिएन। विद्यालयका भग्नावशेषबीच उभिएका बालबालिकाको भविष्य उनले नजिकबाट देखिन्। कतिपय गाउँमा विद्यार्थीहरू असुरक्षित भवनमा पढिरहेका थिए, कतै अभिभावकहरू आफ्ना छोराछोरीको सुरक्षाप्रति चिन्तित थिए। त्यही दृश्यले उषालाई अझ जिम्मेवार बनायो।

‘विद्यालय भनेको केवल भवन होइन, त्यो भविष्य निर्माण गर्ने ठाउँ हो ।’ उनी भन्छिन्, ‘त्यसैले सुरक्षित र गुणस्तरीय पूर्वाधार निर्माण गर्नु मेरो लागि पेशाभन्दा पनि दायित्व बनेको थियो।’

नेपालमै संघर्ष गर्दै अघि बढेकी उषाको यात्रा पछि अमेरिकासम्म पुग्यो। अहिले उनी अमेरिकाको प्रतिष्ठित सान डियागो स्टेट युनिभर्सिटीबाट कन्स्ट्रक्सन इन्जिनियरिङमा मास्टर्स डिग्री हासिल गरेकी छिन्। परिवारबाट विदेशमा उच्च शिक्षा हासिल गर्ने पहिलो पुस्ताकी सदस्य बनेर उनले आफ्नो परिवार र समाजका लागि एउटा नयाँ उदाहरण प्रस्तुत गरेकी छन्।

अमेरिकामा अध्ययनका क्रममा उनले ‘लाटिना लिडरसिप आउटस्ट्यान्डिङ ग्राजुएट मेडालियन’ सम्मान पनि प्राप्त गरिन्। यो सम्मान केवल शैक्षिक उत्कृष्टताको प्रतीक मात्र होइन, नेतृत्व क्षमता, लगनशीलता र संघर्षको पनि सम्मान थियो।

तर धेरैको जस्तो उनको सपना विदेशमै स्थायी बसोबास गर्ने छैन। बरु उनी नेपाल फर्केर आफ्नै देशमा काम गर्ने योजना बनाइरहेकी छन्। आफूले सिकेको ज्ञान, सीप र अनुभव नेपालका पूर्वाधार विकास, सुरक्षित विद्यालय निर्माण र गुणस्तरीय इन्जिनियरिङ क्षेत्रमा प्रयोग गर्ने उनको चाहना छ।

‘नेपालले मलाई सपना देख्न सिकायो ।’ उनी भन्छिन्, ‘म जहाँ पुगेकी छु, त्यो मेरो देश, मेरा गुरु, मेरा अभिभावक र समाजकै कारण सम्भव भएको हो। त्यसैले मैले सिकेको कुरा नेपालमै प्रयोग गर्न चाहन्छु। आफ्नै देशका लागि केही गर्न सक्नु नै मेरो सबैभन्दा ठूलो सपना हो।’

उनको यात्राले आजको पुस्तालाई एउटा महत्वपूर्ण सन्देश दिन्छ कि सफलता विद्यालयको भवनले तय गर्दैन, त्यो मेहनत, निरन्तरता र आत्मविश्वासले तय गर्छ। सरकारी विद्यालयमा पढ्दै गरेका धेरै विद्यार्थीहरू अझै पनि आफूलाई अवसरभन्दा टाढा ठान्छन्। तर उषाको जीवनले प्रमाणित गरेको छ कि परिस्थिति कमजोर हुन सक्छ, सपना होइन।