हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका दुग्ध उत्पादक किसानहरूले दुधको भुक्तानी समयमै उपलब्ध गराउन माग गरेका छन्।
संस्थाद्वारा आयोजित अध्ययन अवलोकन भ्रमणको समीक्षा तथा भावी कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी किसानहरूले दुध बिक्री गरेबापतको रकम समयमा प्राप्त नहुँदा घरपरिवार सञ्चालन गर्न तथा छोराछोरीको शिक्षादीक्षामा समेत समस्या हुने गरेको गुनासो गरेका हुन्।
किसानहरूले संस्थामार्फत पशु आहारको नियमित उपलब्धता, पशु बीमा, औषधि तथा उपचार सेवा, बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित बनाउन पनि आग्रह गरेका छन्।
कार्यक्रममा सहभागीहरूले सरोकारवाला निकायसँग समन्वय गरी घाँस व्यवस्थापन, दुग्धजन्य पदार्थको बजारीकरण, कार्यालय व्यवस्थापन, पशुहरूमा लाग्ने विभिन्न रोगको समयमै उपचार तथा संस्थाको सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
संस्थाका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देलको प्रमुख आतिथ्यता तथा अध्यक्ष रामहरि चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार बासुदेव अधिकारी, बचत उपसमिति सदस्य गोपालचन्द्र भट्टराई, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
संस्थाका व्यवस्थापक लक्ष्मण सापकोटाका अनुसार सहकारीमा ३३० जना शेयर सदस्य आबद्ध रहेका छन् भने ५६५ जना दुग्ध उत्पादक किसानले नियमित रूपमा दुध आपूर्ति गर्दै आएका छन्।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्