हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजना तथा ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिको समन्वयमा चौघडामा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख मन्दिरा थापाले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले आफूले भोगेका दुःख, जीवनयापनका क्रममा गरेका संघर्ष तथा बिहानदेखि बेलुकासम्म सन्तानका लागि पुर्‍याएको योगदानबारे अनुभव सुनाएका थिए। सहभागी ज्येष्ठ नागरिकहरूले आफ्ना सन्तानबाट माया, समाजबाट सम्मान र राज्यबाट सम्मानजनक जीवनयापनका लागि आवश्यक आधार प्राप्त हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले शिक्षा प्राप्त गर्नु आफ्नो अधिकार भएको बताउँदै आफ्ना बुबाआमा तथा अग्रजहरूको सम्मान गर्ने कार्यलाई सदैव निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा ज्येष्ठ नागरिक वडा मञ्च समन्वय समिति हेटौँडा–६ का अध्यक्ष टेकनाथ पहाडीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा वडा सदस्य विजय पौडेल, ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामचन्द्र ढकाल, हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी कर्मचारी निर्मला दाहाल, सञ्चारकर्मी भीमसेन पौडेल, वंशगोपाल माध्यमिक विद्यालय चौघडामा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरू तथा वडाका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।

भीमसेन पौडेल
थप जानकारी