हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा अभिभावकहरूको श्रमदान, आर्थिक सहयोग र स्थानीय समुदायको सक्रियताबाट निर्माण गरिएको दुईकोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ। कक्षाकोठा अभाव झेल्दै आएको कैलाश गाउँपालिका–७ स्थित कोथलिटार आधारभूत विद्यालयमा निर्माण सम्पन्न भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको हो।
विद्यालयको भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा स्थानीय मानबहादुर नेगीले विद्यालयका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि अभिभावक, स्थानीय बासिन्दा तथा विभिन्न सहयोगीहरूको श्रमदान र आर्थिक सहयोगबाट दुई कोठे ट्रस भवन निर्माण गरिएको विद्यालयले जनाएको छ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको क्षेत्रमा सञ्चालित विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको बताए। प्राथमिक तहबाट स्तरोन्नति भई आधारभूत तहसम्म सञ्चालनमा आएको विद्यालयलाई भविष्यमा माध्यमिक तहसम्म विस्तार गर्ने गाउँपालिकाको योजना रहेको उनले जानकारी दिए ।
‘शिक्षा विकास बिना गाउँको समग्र विकास सम्भव छैन,’ उनले भने, ‘विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि गाउँपालिका आवश्यक बजेट व्यवस्थापन गर्न तयार छ। तर त्यसका लागि अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्छ ।’ उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय, विद्यालय र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने बताए।
समुदायको सहयोगबाट जुट्यो दुई लाखभन्दा बढी
विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठका अनुसार भवन निर्माणका लागि अभिभावकहरूबाट एक लाख ९९ हजार सात सय सात रुपैयाँ संकलन गरिएको थियो । त्यसैगरी विद्यालयको तर्फबाट ६१ हजार तीन सय रुपैयाँ जुटाइएको थियो ।स्थानीय समुदायको आर्थिक सहयोगसँगै श्रमदानले निर्माण लागत घटाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनको भनाइ छ । दुर्गम क्षेत्रमा सरकारी स्रोतसाधनको सीमितताबीच समुदायको अग्रसरताले विद्यालयको पूर्वाधार विकास सम्भव भएको स्थानीयको विश्वास छ ।
कार्यक्रमका अवसरमा विद्यालयका लागि जग्गा उपलब्ध गराउने मानबहादुर नेगीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । यस्तै भवन निर्माणमा आर्थिक, भौतिक तथा अन्य सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। स्थानीय बासिन्दाहरूले विद्यालयको पूर्वाधार विकासमा समुदायको सहभागिता बढ्दै गए शिक्षाको पहुँच र गुणस्तर दुवै सुधार हुने विश्वास व्यक्त गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्