Ai image

हेटौँडा । बागमती प्रदेशमा धान रोपाइँ तीव्र भइरहेका बेला रासायनिक मलको अभाव देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार किसानको मागको तुलनामा २५.२४ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध भएको छ । युरिया, डिएपी र पोटासको आपूर्ति न्यून हुँदा किसान प्रभावित भएका छन् ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ सुजन कँडेलले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार माटोको उर्वराशक्ति संरक्षण तथा रासायनिक मलमा निर्भरता कम गर्न प्राङ्गारिक मलको प्रयोग प्रभावकारी हुने बताए ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा युरिया, डिएपी र पोटास गरी कुल दुई लाख ७६ हजार ५७५ मेट्रिक टन रासायनिक मलको माग रहेकोमा ६९ हजार ८१६ मेट्रिक टन अर्थात् २५.२४ प्रतिशत मात्रै आपूर्ति भएको थियो ।

त्यसैगरी आगामी आर्थिक वर्ष २०८३÷०८४ मा युरिया एक लाख ६४ हजार १९३ मेट्रिक टन, डिएपी ८६ हजार ८७ मेट्रिक टन र पोटास ३७ हजार ३५९ मेट्रिक टन माग हुने मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षझैँ आगामी आर्थिक वर्षमा पनि मागको तुलनामा करिब एक चौथाइ मात्र रासायनिक मल उपलब्ध हुने देखिएको मन्त्रालयको अनुमान छ ।