हेटौंडा। हेटौंडा–८ कमानेस्थित सर्वोत्तम सुन्दर सञ्चिती सहकारी संस्थाले हेटौंडा–६ चौघडामा सुपथ मूल्य सहकारी पसल (मिनी मार्ट) सञ्चालनमा ल्याएको छ।

स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै उपभोक्ताको भान्सासम्म स्वच्छ, गुणस्तरीय र सर्वसुलभ मूल्यका सामग्री उपलब्ध गराउने उद्देश्यले बिहीबारदेखि मिनी मार्ट सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ।

मिनी मार्टको उद्घाटन एक समारोहका बीच हेटौंडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै सहकारीले सर्वसुलभ र स्वास्थ्यवर्द्धक सामग्री बिक्री वितरण गर्नु सहकारीको मर्म र भावना अनुरूपको कार्य भएको उल्लेख गरे । सहकारीमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन हुनु सकारात्मक पहल भएको भन्दै उनले संस्थालाई शुभकामना व्यक्त गरे ।

सहकारीका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, संस्थाका वरिष्ठ सल्लाहकार रघुरमण न्यौपाने, सल्लाहकार शम्भु नहर्की, सञ्चारकर्मी, सहकारीका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सहकारीले हाल ५४ प्रकारका स्थानीय उत्पादन उपभोग्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ। यसअघि नै नगरका विभिन्न सात स्थानबाट आफ्ना उत्पादन बिक्री गर्दै आएको सहकारीले चौघडामा नयाँ मिनी मार्ट सञ्चालनसँगै सेवा विस्तार गरेको हो।

सहकारीका अनुसार चौघडास्थित मिनी मार्टबाट दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उपभोक्तालाई सेवा प्रदान गरिनेछ।

भीमसेन पौडेल
थप जानकारी