हेटाैँडा । मकवानपुरको दुर्गम क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका –९ सोमनामटार भन्ने गाउँमा एकल महिला र अर्का एक पुरुषमाथि सामाजिक कुटपिट र दुब्र्यवहार भएको छ ।

असार १७ गते साँझ स्थानीय गोराङ्दी खोलामा माछा मार्ने क्रममा केही व्यक्तिहरुले खोलाबाट नियन्त्रणमा लिइ स्थानीय ३९ बर्षीयकुमारी थिङ र गणेश नगरकोटीलाई सामूहिक कुटपिट र अमानवीय व्यवहार गरिएको हो ।

पीडित थिङले आफूमाथि अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दर्ता गराए। श्रीमान ७ बर्षअघि बितेको र दुई बर्ष वैदेशिक रोजगारपछि घर फर्केको कुमारीले गणेशलाई जग्गा कमाउन दिएको र जग्गा कमाउन नपाएका अर्का पक्षले दुबै जनाबिच अनैतिक सम्बन्ध रहेको भन्दै सामूहिक कुटपिट गरी अपमान गरिएको पाइएको छ ।

स्थानीय होमराज स्याङ्तान, उहाँका छोरा लिला स्याङ्तान, जग्गा कमाउन नपाएका दिपेश थिङसहित –८ जनाको नाम किटान गरी प्रहरी कार्यालयमा उजुर भएको हो । कुमारी र गणेशलाई गाउँलेहरु भेला भइ सामूहिक रुपमा खानेपानीको पाइपले निलडाम देखिने र घाइते हुनेगरी कुटपिट गरी घटना सार्बजनिक नगर्न धम्की दिँदै दुबै जनालाई कागज समेत लेखेर सही छाप गराइएको पीडितले बताएका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टले घटनाबारे पीडितको कुरा सुनिएको र अर्काे पक्षलाई हाजिर हुन बोलाइएको बताए। दुबै पक्षको कुरा सुनेपछि मात्र मुद्दाले गति लिने उनले बताए ।  गाेरखापत्र अनलाइनबाट