हेटाैँडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
आइतबार बसेको प्रदेश कार्यसमितिको बैठकले उक्त रकम कांग्रेस विपत् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए। बैठकले रसुवा, नुवाकोट र धादिङमा बाढीले ठुलो जनधनको क्षति पुर्याएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसम्म असर परेको उल्लेख गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
कांग्रेसले प्रदेश सरकारमातहतका अस्पतालमा उपचाररत घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न, बिरामी र कुरुवाका लागि आवश्यक बसोबास तथा खानाको व्यवस्था मिलाउन र दीर्घरोगीले निःशुल्क पाउँदै आएको औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले विपतपछि स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गर्नसमेत आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशदेखि वडा तथा टोल तहसम्मको पार्टी संरचना परिचालन गर्ने निर्णय गरेको छ।
यसका लागि प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। उक्त समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरेर राहत, उद्धार र पुनर्स्थापनासम्बन्धी काम अघि बढाउनेछ।
यसैबिच बैठकले बाढीका कारण अवरुद्ध भएका क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुंगे पुल तथा बेलिब्रिज निर्माण तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग गरेको छ। त्यस्तै, घरबारविहीन बनेका परिवारका लागि अस्थायी आवासको व्यवस्था गरी दीर्घकालीन रूपमा स्थायी पुनर्वास कार्यक्रम सञ्चालन गर्न पनि कांग्रेसले आग्रह गरेको छ।
कांग्रेसले आर्थिक वर्ष ०८३–८४ को बजेटमा समावेश एक हजार घर निर्माण तथा आयआर्जनका लागि सिप, प्रविधि र बिउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न प्रदेश सरकारसँग माग गरेको छ।
बैठकले विपतको घडीमा सबै राजनीतिक दल, सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाज एकजुट भएर राहत, उद्धार तथा पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्न सबैमा अपिल गरेको छ।












प्रतिक्रिया दिनुहोस्