हेटाैँडा । भोटेकोशी बाढीमा परेर मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसेका सविन राना मगरको मृत्यु पुष्टि भएको छ । नारायणी नदीअन्तर्गत सुस्ता किनारमा सविनको शव सोमबार बिहान भेटिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सविनको परिवारले शवको पहिचान गरिसकेका छन् ।मृतकका परिवारले सोमबार एक दिनका लागि शव हेटौंडा अस्पतालमा राख्ने व्यवस्था मिलाइदिनका लागि आग्रह गरेको उनले बताए । सविनले बाँया हातमा खोपेको ट्याटुबाट शवको पहिचान भएको हो । सविन रसुवाको स्याफ्रुबेंशीस्थित जलविद्युत आयोजनामा चालकको काम गर्दै आएका थिए ।

भोटेकोशीको बाढीमा परी मकवानपुर घरभएका मृतकको संख्या ६ पुगेको छ । यसअघि सनाखत हुनेमा हेटौंडा उपमहानगरपालिका–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१२ का विकास गोले, हेटौंडा–१५ का रमेश मगर र धादिङ घर भई हाल मकवानपुर बसोबास गर्दै आएका रमेश आलेमगर छन् । बाढीपछि मकवानपुरका ६० जना सम्पर्कविहीन छन् ।