हेटौँडा–१, चौकीटोल गैरीगाउँका सुनील बानियाँले २०७८ मंसिरमा जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा १२ लाखको मुद्दती बचत गरे । सहकारीले नै तीन महिनालाई मुद्दती राख्न पाउने बताएपछि उनले १२ लाख रुपैयाँ लगेर बचत गरे ।

तीन महिनापछि मुद्दतीको रकम लिन सहकारी पुग्दा भने उनी छाँगाबाट खसेझैँ भए । ‘बैंक, सहकारीहरूले समयमै पैसा दिन्छन् भन्ने थियो । मैले मुद्दतीमा राखेको रकम सहकारीले तीन महिनापछि पैसा छैन, बैंकबाट १ करोड ऋण पास हुन लागेको छ, त्यसपछि दिन्छु भन्यो,’ बानियाँले सुनाए ।

त्यति बेला बानियाँ हेटौँडामै व्यापार गर्ने गर्थे । १२ लाख रुपैयाँ मुद्दतीमा राखेर थप पैसा व्यापारमै लगानी गर्ने योजना बनाएका उनी अहिले घरमै बेरोजगार भएर बस्न बाध्य भएका छन् । ‘पैसा नआएपछि व्यापार पनि चलाउन सकिनँ । १२ लाख पनि ऋण गरेर मुद्दतीमा राखेको थिएँ । व्यापार छोडेर घरमै बेरोजगार भएर बसेको छु । सहकारीले यसरी ठग्दो रहेछ, मलाई त मर्नु न बाँच्नु भइसक्यो,’ जिल्ला प्रहरी कार्यालय मवकानपुरको परिसरमा उनले दुःखेसो गरे ।

बानियाँले १२ लाख रकम उठाउन अनेक प्रयास गरे । उनलाई सहकारीकै पदाधिकारीले १२/१२ लाखको चेक मात्रै चारपटक फरक समयको दिएर फसाइसकेको खुलेको छ । कहिले चेकमा छाप नहुने, खाता नम्बर नै उल्लेख नभएको चेक दिने गरेर सहकारीले आफूलाई ठगी गरेको बानियाँले शिलापत्रलाई जानकारी दिए । सहकारीमा सबैभन्दा ठूलो रकम बानियाँको १२ लाख फसेको छ ।

हेटौँडा–२, संगमचोकमा रहेको जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा करिब ८ सय जना बचतकर्ताको २–४ हजारदेखि लाखौँ रुपैयाँसम्म मुद्दतीमा राखिएको रकम हिनामिना भएको बानियाँको भनाइ छ ।

त्यस्तै, छोरीको करिब २८ हजार बचत पनि सहकारीले हिनामिना गरेको भन्दै १ नम्बर वडाकी सरस्वती भ्लोन प्रहरीकोमा पुगेकी थिइन् । सरस्वतीजस्ता ज्याला मजदुरी गर्ने र गृहिणी सयौँ महिलाको बचत रकम सहकारीले हिनामिना गरेको आराेप छ।

सहकारीले बचतकर्ताको ४६ लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । सहकारीले आर्थिक अपचलन गरेको करिब एक वर्ष हुन लागेको छ । घटनाबारे थाहा पाउन करिब एक वर्षअगाडि फर्किनुपर्ने हुन्छ । गत वर्ष साउन महिनामा काठमाडौंको ग्वार्कोस्थित वेलहम्स बचत तथा ऋण सहकारी संस्थाको शाखा हेटौँडामा खुल्यो । सहकारीले साउनदेखि पुससम्म करिब १५ जना बजार प्रतिनिधि राखेर धमाधम लाखौँ रकम बचतका नाममा संकलन गरेको थियो ।

काठमाडौंमा दर्ता भएको सहकारी हेटौँडामा सञ्चालन हुन नपाउने भन्दै तत्कालीन सञ्चालक यमनारायण रजौटाले ८ नम्बर वडाका रामकृष्ण अधिकारी र राजीव तामाङसँग मिलेर हेटौँडा– १२, पदमपोखरीको जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था खरिद गरे । वेलहम्सको व्यावसायिक साझेदारका रूपमा जनचेतना स्वावलम्बन साकोसले नियमित बचत उठाउन थाल्यो । नियमित बचत संकलन भइरहेको बेला सहकारीका तत्कालीन अध्यक्ष रजौटाले गतवर्ष पुसमा बचतकर्ताको ५१ लाख रुपैयाँ लिएर फरार भएको पीडितहरूले बताएका छन् ।

गत कात्तिकदेखि लगानीसहित जनचेतनाको अध्यक्षमा कमानेका अधिकारी र तामाङ कोषाध्यक्ष भएर आए । सहकारीका कोषाध्यक्ष तामाङले वेलहम्सका सञ्चालक रजौटाले ५१ लाख रुपैयाँ लिएर गएको आरोप लगाए । ‘रजौटाले हामीलाई सहकारी जिम्मा लगाएर जाँदा ५१ लाख रुपैयाँ लानुभएको रहेछ । हामीलाई पनि झुक्याएर यस्तो काम भयो,’ उनले भने । तामाङका अनुसार रजौटाले १८ लाख रुपैयाँ कार्यालय खर्च र बाँकी बचतकर्ताले संकलन गरेको रकम लिएर गएको बताए ।

हाल अधिकारी र तामाङ प्रहरीको सम्पर्कमा छन् । पीडितहरूले सहकारीमा संकलित बचत रकम हिनामिना गरेको आरोपमा अधिकारी र तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याएका छन् । काठमाडौं घर भएका रजौटाले सहकारीमा ठगी गर्ने उद्देश्यले धेरै बजार प्रतिनिधि राखेर लाखौँ रकम उठाएको आशंका पीडितसमेत रहेकी तत्कालीन बजार प्रतिनिधि दीपिका शर्माले बताइन् । छोटो समयमै संकलन भएको रकम रजौटाले लिएर फरार भएको शर्माले आरोप लगाइन् ।

‘हामीले नियमित संकलन गर्थ्यौं । रजौटाले लाखौँ पैसा उठाएर भागेको रहेछ । हामीलाई सहकारीमा पछि नयाँ कर्मचारी आएपछि मात्रै थाहा भयो । यसमा सबैको मिलेमतो छ,’ शर्माले भनिन् । पुसमा रजौटाले रकम लिएर भागेपछि कात्तिकमा अधिकारी र तामाङले लगानी गरेर सहकारीको जिम्मा लिएको बताए । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले सहकारीमा लाखौँ रकम हिनामिना भएको विषयमा अनुसन्धान भइरहेको भन्दै तीन महिनाभित्र सबै रकम फिर्ता गर्ने सहमति भएको बताए ।

७२ लाख रकम फिर्ता गर्ने सहमति

सहकारीका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले प्रहरीको रोहबरमा पीडितहरूलाई तीन महिनाभित्र हिनामिना भएको रकम फिर्ता गर्ने गरी सहमति गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अधिकारी र तामाङले पीडितहरूलाई तीन महिनाभित्र ७२ लाख रुपैयाँ फिर्ता गर्नेगरी सहमति गरेका हुन् । सहकारीका बजार प्रतिनिधिलाई उनीहरूले चेक पनि दिएका छन् । पीडितहरूले बचत रकम सबै फिर्ता मागेपछि तीन महिनाभित्र फिर्ता गर्नेगरी सहमति गरेको कोषाध्यक्ष तामाङले बताए । तत्कालीन अध्यक्ष रजौटाले लगेको ४६ लाख र ऋण लगानी भइसकेको सर्वसाधारणको बचत रकम गरेर ७२ लाख फिर्ता गर्ने तामाङले बताए ।

‘पहिलाको बचत रकम र हामी सहकारीमा आएपछि ऋण लगानी भइसकेको बचत रकम सबै उहाँहरूलाई फिर्ता गर्ने गरी सहमति भएको छ । उहाँहरूले सबै रकम फिर्ता मागेपछि हामी तिर्छौं । त्यसैले व्यवहार मिलाउन तीन महिना समय मागेका हौँ,’ तामाङले भने ।

सहकारीको हेटौँडा–१२, पदमपोखरीमा रहेको १ कट्ठा जग्गा र दुईतले घर बिक्री गरेर पीडितको रकम तिर्ने अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले सहमति जनाएका हुन् । रजौटाले पनि अधिकारी र तामाङसँग ४६ लाख रुपैयाँ फिर्ता गर्ने बाचा गरिरहे पनि समयमा नतिरेको तामाङले गुनासो गरे ।

साभार शिलापत्र/नवीन तिमल्सिना