हेटौंडा । आप्रवासन (सामी) परियोजना अन्र्तगत सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्र हेटौंडाले वैदेशिक रोजगार सम्बन्धी १६७ समस्या समाधान गरेको छ ।
हेटौंडामा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाले सन् २०१९ देखि २०२२ (हाल सम्म) सम्म वैदेशिक रोजगार सम्बन्धी २३३ समस्या आएकोमा १६७ समस्या समाधान गर्न सफल भएको हो । वैदेशिक रोजगारमा गएर सम्पर्क विहिन भएका २० जना मध्ये ११ जनालाई भेटाउन परियोजना सफल भएको सुरक्षित आप्रवासन परियोजना ९सामी०को परियोजना संयोजक अंजिता थापा मगरले जानकारी दिईन् । उनले भिजिट भिसाका नाममा पनि पछिल्लो समय मानव तस्करी हुने गरेको बताइन् ।
वैदेशिक रोजगारको बाहानमा ठगी धन्दा चुनौतिको रुपमा रहेको पाइएको छ । बढ्दो बेरोजगारीलाई अवसरको रुपमा प्रयोग गर्दा सर्वसाधारणहरुलाई ठगी गर्नेहरुको कारण समस्या बढ्दो रहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ । पछिल्लो समय ठगीको केसहरु बढी आउन थालेको र यसबाट पीडितलाई न्याय दिलाउन समेत कठिनाइ भएको आप्रवासी स्रोत केन्द्र (सामी) परियोजा संयोजक मगरको भनाइ छ । उनका अनुसार हालसम्म २४ वटा उजुरी परेका छन् । ठगिनु अघि दुबैपक्षले सबैकाम गोप्य ढंगले गर्ने र ठगिएपछि पीडित गुनासो गर्दै आउने गरेको उनले बताइन् । आईएमइ गरेर, बिना भर्पाइ, कुनै पनि प्रमाण नै नराखि पैसा पठाउने गरेको कारण न्यायको लागि सहजिकरण गर्न समस्या हुने गरेको उनको भनाई छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वाहानामा लागेकाहरुले पैसा, राहदानी होल्ड गरिदिएर पीडा दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुर आप्रवासी स्रोत केन्द्रको मनोबैज्ञानिक परामर्शकर्ता पार्वती बिकले बताइन् । यस्ता ठगी कार्यमा संलग्नहरु स्वदेशमा नभई भारतलगायत बाहिर बस्ने गरेको कारण पनि पीडितलाई न्यायमा सहजिकरण गर्न सहज नभएको उनले बताइन् । सामी परियोजना मार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सिप, भाषा लगायतको पुर्व तयारी बारे परामर्श दिने गरेको छ । यसैगरी फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई बिक्तिय साक्षरता कक्षा मार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुल खर्च कटौती जस्ता कार्यमा प्रोत्साहि गर्दै आएको छ ।
परियोजना अन्तरगत वैदेशिक रोजगारबाट फर्केकाहरुलाई वैदेशिक रोजगारको क्रममा आर्जन भएको राम्रा वा नराम्रा अनुभव आपसमा सटासाट गर्न स्वयंसेवकको रुपमा कार्य गर्न समेत समूह निर्माण गरिएको छ । मकवानपुरमा यस्ता स्वयमसेवकहरु १२ जना रहेको थापा मगरले बताइन् । मकवानपुर जिल्लाको हेटौंडा उपहानगरपालिका,थाहा नगरपालिका,बकैया र मनहरी गाउँपालिकामा सामीले परियोजना सन्चालन गर्दै आएको छ । सामीले असुरक्षित रुपमा विदेश जानेहरुलाई रोक्नुको साथै वैदेशिक रोजगारमा जान चाहानेहरुलाई सिपमा पहुँच, वैदेशिक रोजगारमा गएर समस्यामा परेकाहरुको सहजिकरण, मनोसामाजिक परामर्श र वित्तय साक्षरता पनि प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।
यस परियोजनाले बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र उपलब्धीमुलक बनाउने रहेको छ । वैदेशिक रोजगारमा जानुअघि आफु जाने मुलुक,कम्पनी र गर्ने कामको बारेमा पर्याप्त सूचना जानकारी लिएर मात्र जानुपर्ने सामीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्