हेटौंडा । सामाजिक अभियानमा सक्रिय युवाहरुले हेटौंडा ८ कमानेका कृष्ण बहादुर अधिकारीलाई नगद चौध हजार रुपियाँ सहयोग गरेका छन् ।

आर्थिक अवस्था निकै कमजोर रहेका अधिकारीलाई सार्वजनिक सेवा सुधार संघर्ष समितिका अभियान्ता दिपेन्द्र चन्द ठकुरीले ३ हजार, दिपेश खड्गी ३ हजार, शनि राजथला ३ हजार र कृष्णराज कोईरालाले ५ हजार रुपियाँ सहयोग गरेका हुन ।

हेटौंडा अस्पतालको लापरवाहीका कारण उपचारको क्रममा अधिकारीको बच्चाको मृत्यु भएको थियो । बच्चा जन्मदा स्वस्थ रहेपनि लगतै शिशुको स्वास्थ्यमा समस्या आएपछि हेटौंडा अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने शिशुलाई डिस्चार्ज गरेर डाक्टरले घर पठाएपछि शिशुको मृत्यु भएको थियो ।

सार्वजनिक सेवा सुधार संघर्ष समितिले हेटौंडा अस्पतालको सेवा, सुबिधा सुधारको लागि आवाज उठाउँदै आएको छ । अस्पतालको सेवा सुधारका लागि समितिले निरन्तर खबरदारी गर्दै आएको छ । समतिले यसअघि हेटौंडा १० बसपार्कमा रहेको खाल्डाखुल्डी पुर्ने तथा कमानेमा रहेको सीप विकास व्यावसायीक तालिम केन्द्रमा छड्के अनुगमन समेत गरेको थियो ।

समितिले हेटौंडा अस्पतालको सेवा सुधार, जिल्ला प्रशासन कार्यालयबाट आम जनताले पाउनुपर्ने सेवा सहज ढंगबाट पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति हेटौंडामा ज्ञापनपत्र समेत बुझाएको थियो । सार्वजनिक चासोको बिषयमा भएका बेतिथी बिरुद्ध हेटौंडाका सचेत युवाहरुले सधैं आवाज उठाईरहने दिपेन्द्र चन्द ठकुरीले बताए ।