हेटौंडा । दैनिक हजारौं सेवाग्राहीको घुईचो हुने हेटौंडाको मालपोत कार्यालयको शौचालय दुर्गन्धित र फोहर भेटिएको छ । यहाँ आउने सेवाग्राहीको लागि पिउने पानीको पनि उचित व्यवस्थापन नभएको भेटिएको हो ।

आज सार्वजनिक सेवा सुधार संघर्ष समितिले गरेको अनुगमनको क्रममा दैनिक ५ सयदेखि एक हजार जना सेवाग्राही आउने सार्वजनिक चासोको कार्यालयमा शौचालय र पिउने पानीको उचित व्यवस्थापन नभएको भेटिएको हो । कार्यालयमा भएका कमि कमजोरी सुधार्न, शौचालयको सरसफाई र खानेपानीको उचित व्यवस्थापन कार्यालयले १० दिनभित्र गर्ने सहमति भएको संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरीले बताए ।

त्यस्तै हेटौंडा ४ मा रहेको आधुनिक माध्यामिक बिद्यालयमा पनि अनुगमन गरिएको छ । बिद्यालयमा बिद्यार्थीहरुले पिउने पानी, प्रयोग गर्ने शौचालय र चमेना गृहको अनुगमन गरिएको थियो । बिद्यालयको शौचालय सुधार गर्न आग्रह गरिएको संघर्ष समितिका रामशरण कार्कीले बताए । उनका अनुसार बिद्यालयको पिउने पानीको नमुना संकलन गरेर परीक्षणका लागि खानेपानी व्यवस्थापन बोर्डमा बुझाईएको छ ।

त्यस्तै हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग पनि छलफल गरिएको छ । संघर्ष समितिको टोलीले बोर्डका पदाधिकारी संग छलफल गरेको हो । हेटौंडामा पिउने पानीलाई थप व्यवस्थित र सफा स्वच्छ वितरण गर्नका लागि आफुहरु सधैं सचेत रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताए । मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको बिषय भएकाले सामुदायिक बिद्यालयहरुमा वितरण गरिएको पिउने पानीको गुणस्तर जाँच गर्नका लागि बोर्डले सहयोग गर्ने भएको संघर्ष समितिका दिनेश वाइवा लामाले बताए ।

संघर्ष समितिले आम जनता संग जोडिएका बिषयमा पछिल्लो एक महिनादेखि आवाज उठाउँदै आएको छ । सचेत युवाहरुले हेटौंडा अस्पताल, सडक, खानेपानी, बिद्यालय लगायतका बिषयमा आवाज उठाउँदै आएको छ ।