हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको भुवनेश्वर महादेव मन्दिर सहित देशैभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । आज साउन महिनाको अन्तिम सोमबार भएकाले भक्तालुहरुको घुइँचो लागेको हो ।

वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक आज गोदान र पूर्णपात्र गरी समापन गर्दै छन् । सोमबार हेटौंडा नगर र आसपास हेटौंडा उपमहानगरपालिका वडा ४ स्थित भुवनेश्वर मन्दिर, हेटौंडा–१० मा रहेको भुटनदेवी र गोरक्षेश्वर मन्दिर, हेटौँडा–१, भैरवडाँडामा रहेको पाथीभरा देवी मन्दिर, हेटौंडा–५ मा रहेको रुद्रेश्वर,दामनमा रहेको ऋृखेश्वर मन्दिर र दक्षिणकाली मन्दिर र दक्षिणकाली मन्दिरलगायतका धार्मिकस्थलमा आज बिहानै देखि भक्तजनहरुकोे भिड लागेको छ । शिवालय लगायत पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

हिन्दुहरुको प्रमुख पर्वहरुमा यहाँ दर्शन गर्न आउने भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ । प्रत्येक वर्ष तिज, शिवरात्री लगाएतका अन्य चाडपर्वमा यहाँ भिड हुने गर्दछ । पशुपति क्षेत्रमा विवाह, व्रतवन्ध लगाएतको धार्मिक कार्यक्रमहरु पनि हुने गरेको छ ।
भक्तालुहरुको व्यवस्थापन गर्न हेटौंडाका स्वतन्त्र युवाहरुको टिमले स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी खटिएका थिए ।