हेटौंडा । हेटौंडा ६ चौघडा निवासी विश्व साइकल यात्री रामचन्द्र मानन्धर साइकल यात्रामा निस्केका छन् । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनी नेपालका ४२ जिल्ला सहित विदेश यात्रामा निस्केका हुन् । मकवानपुरको पूर्वी भाग हुँदै सिन्धुली तर्फको यात्रामा निस्केको उनले बताए ।

२०६३ माघबाट साइकल यात्रा सुरु गरेका मानन्धरले एक सय वर्षका लागि नेपाल ठेक्कामा दिनुपर्ने सन्देश सहित साइकल यात्रालाई निरन्तरता दिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै मानन्धरले विदेश र विकासका नीति एउटै हुनुपर्छ भन्दै नेपालमा नियम र कानुन लागु हुनुपर्छ तर यहाँ यस्तो नभएको भन्दै नेपाललाई ठेक्कामा एक सय वर्ष दिए नेपाल बन्ने दाबा गरे ।

उनले नेपालको विकासको मापदण्ड भित्र पुगी सफल हुन प्रशासन र कार्यकारी प्रमुख नेपाली हुनुपर्ने र दुई राष्ट्र दुई प्रणाली हुनुपर्ने बताएका थिए । २०६३ सालमा पुर्वका थाइल्याण्ड, म्यानमार, हङकङ, मकाउ देखी जोर्डन, इजरायल, प्यालेस्टाइन, टर्की लगायतका ३३ वटा देशमा साईकल यात्रा गरिसकेका मानन्धरले कम्बोडियाको जंगलमा बास बसेको तितो अनुभव पनि सुनाए ।

मानन्धरले मेचीमहाकाली साइकल यात्रा, केरुङ देखी पर्सा जिल्ला सम्मको यात्रा, हेटौंडा पाथिभरा देखी ताप्लेजुङको पाथिभरा सम्मको साइकल यात्रा गरिसकेका छन् । उनले नेपालका ३५ जिल्लामा साइकलमा पुगीसकेका छन् ।