हेटौंडा । कार्यरत स्थायी कर्मचारी खुसी पार्न पटक, पटक अध्यादेश ल्याएको सरकारले मन्त्रालय पिच्छे करारमा कम्प्युटर अप्रेटर, कार्यालय सहयोगी, चालक भर्ना गरिरहेको छ । संघ र प्रदेशको चुनाबको मुखमा कार्यकर्ता र आफन्तलाई समेत जागिर खुवाएर खुसी बनाउनका लागि ठुलो सख्यामा करारमा कर्मचारी माग गरिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करारमा ६५ जना कर्मचारी नियुक्त गर्ने अन्तिम चरणमा पुगेको समयमा प्रदेशको स्वास्थ्य मन्त्रालयले फेरी ५ सय ९८ जना कर्मचारी अन्तवार्ता मात्रै लिएर भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा एकै पटक ६ सय कर्मचारी भर्ना गरिन लागिएको छ । कार्यालय सहयोगी देखि नबौ तह सम्मका कर्मचारी भर्ना गर्नका लागि पत्रिकामा सूचना प्रकाशन गरेर माग गरिएको छ ।
योग्यता पुगेका कर्मचारीलाई अन्तर्वार्ताका माध्यमले भर्ना गर्न लागिएको हो । ५ सय ९८ जना कर्मचारी माग गर्दै साउन २७ गतेको पत्रिकामा बिज्ञापन समेत प्रकाशन गरिएको थियो । प्रदेश सरकारले एकै पटक कर्मचारी माग गरेको यो पहिलो हो । यसभन्दा अगाडी मन्त्रालय पिच्छे आवश्यकता आधारमा कर्मचारी माग गरिएको थियो ।
बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएका मध्यमा ५ सय ९८ जना मन्त्रालयले माग गरेको हो । माग गरिएका स्वास्थ्य कर्मचारी मन्त्रालय र मातहतका कार्यालयमा खटाउने तयारी गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको थियो ।
मन्त्रालयको प्रस्ताव अनुसार आर्थिक बर्ष २०७९/८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावका जनशक्तिदेखि सवारी चालकसम्म छन् । मन्त्रीपरिषदबाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।
त्यस्तै, प्रदेश अस्पतालमा स्तरोन्नती भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयमा ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । ‘स्विकृत दरबन्दीमा करारमार्फत जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ ।’–उनले भने । दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाईहरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने छ ।
प्रदेश अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य इकाईहरुमा २०५० सालको भन्दा दुई तिहाई दरबन्दी घटेको जनाईएको छ । यो अवधीमा सेवाग्राहीको चाप भने स्वास्थ्य संस्थामा बढ्दो रहेको छ । ‘स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य इकाईहरुमा सेवा सुविधा, उपकरण, पूर्वाधार र क्षमताको विकास गरेको छ ।’–स्वास्थ्य मन्त्री निमा लामाले भने–‘आवश्यकता अनुसार जनशक्ति व्यवस्थापनले सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।’ उनले चालु आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्धत पुग्ने बताए ।
स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिटै अघि बढ्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा सधैं नियमित र विपदका लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले स्वीकृत दरबन्दी अनुसार पदपूर्तिलाई तिब्रता दिईने मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए ।












प्रतिक्रिया दिनुहोस्