हेटौंडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आजको लागि आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा सामान्य रहेको छ । हेटौंडा–भीमफेदी–काठमाण्डौ चल्ने सुमोहरु चलेका छन् भने जिल्ला भित्र चल्ने सार्वजनिक बसहरु बन्द रहेका छन् ।

बजार क्षेत्रका व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु बन्द रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जानकारी दिएको छ ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् । सडक र गाडीमा कुनै अवरोध नहोस् भन्नका लागि बिहानैदेखि चोकचोकमा प्रहरी खटिएका छन् ।