हेटौंडा । नेपाली सेनामा कार्यरत दम्पती चढेको मोटरसाइकल हेटौंडामा दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ मा बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा पर्सा ठोरी गाउँपालिका– २ की २५ वर्षीया सृजना विकको मृत्यु भएको हो ।

सृजनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् पर्सा ठोरी गाउँपालिका–२ का २९ वर्षीय आदर्श विक र उनका नाबालक छोरा आशिष विक समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आदर्शको हात र छोरा आशिषको टाउकोमा सामान्य चोट लागेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतक सृजना र आदर्श नेपाली सेनाको राजदल गण खैरहनीटार तनहुँमा कार्यरत रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरू सवार मोटरसाइकल एउटै दिशाबाट जाँदै गरेको ना ४ ख ९६०३ को ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोक्किएर दुर्घटना भएको कार्कीले बताए । शिलापत्रबाट