हेटौंडा । काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ११ स्थित नेपाली सेनाको लेनडाँडा क्याम्प लेनडाँडामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । काठमाडौं तराई मधेश दू्रतमार्ग सडक आयोजनाको आयोजनामा भएको कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ११, १२ र गढी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुर, वडा नं. १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, वडा सदस्य विविमाया थिङ, श्री प्रावि कोलखोप बकैया १२ का प्रअ दिवान घिसिङ लगायतकाले दु्रत मार्ग निर्माणका क्रममा परेका असरबारे बोलेका थिए । उनीहरुले दु्रत मार्ग निर्माण सुरु भएसंगै पानीको मुहानहरु सुक्दै गएको, बाटो बिग्रिएको, खोलानालामा पाइने जिवजन्तु लोप भएको, वातावरण प्रदुषण र यहाँका स्थानीयलाई आयोजनामा रोजगारीका सुनिश्चित हुनुपर्ने लगायतका बिषयमा बोलेका थिए ।

कार्यक्रममा वातावरण विज्ञ अनिल चौधरीले काठमाडौं तराई मधेश दु्रतमार्ग आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन सार्वजनिक गरेका थिए भने सामाजिक विज्ञ मदन झाले स्थानीय तथा सरोकारवाको समस्या तथा जिज्ञासा टिपोट गरेका थिए ।

लेन डाँडा क्याम्पका प्राविधिक सेनानी राम सागर यादवको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेनानी अर्पण पण्डित, प्राविधिक सेनानी विनोद श्रेष्ठ, प्राविधिक सुवेदार रमेश थापा, विवेक श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।