हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ठाडो तोकआदेशमा नियुक्ति लिएर काम गरिरहेका ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरले विनाविज्ञापन आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारी हटाएको जनाएको छ ।
परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरी उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख हरिबहादुर महतको ठाडो तोकबाट जागिर खाएकाहरूको जागिर गएको हो ।
जागिरबाट हटाइएका कर्मचारीमा चौथो, पाँचौँ र छैटौँ तहसम्मका रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार जागिर जानेहरूमा सबैभन्दा धेरै स्वास्थ्य, प्राविधिक र प्रशासन फाँटका कर्मचारी रहेका छन् ।
उनले यही पुस मसान्तसम्म करार सम्झौता भएकालाई उपमहानगरपालिकाले जागिरबाट हटाएको बताए । ‘हामीले यही पुस मसान्तसम्म करार सम्झौता भएकाको सम्झौता नवीकरण नगरेका हौँ । उनीहरूको स्थानमा लोकसेवा आयोगले लिएको परीक्षाबाट पदपूर्ति भएको छ । एकै पदमा दोहोरो कर्मचारी राख्ने कुरा पनि हुँदैन, त्यसैले उनीहरूको कारार नवीकरण नभएको हो,’ प्रवक्ता न्यौपानेले भने ।
उनले संघीय मामिला तथा प्रशासन मन्त्रालयले पनि बारम्बार तोकआदेशअनुसार करारमा नियुक्त कर्मचारी घटाउन निर्देशन दिएको पनि बताए । न्यौपानेले तत्काल कार्यालय सहयोगी, चालक र सरसफाइ कर्मचारीको हकमा भने अहिलेको निर्णय लागू नहुने स्पष्ट पारे ।
प्रवक्ता न्यौपानेले उपमहानगरमा अबउप्रान्त विज्ञापन नै नगरी राजनीतिक दबाबको भरमा कर्मचारी भर्ना गर्ने क्रम रोकिने विश्वास व्यक्त गरे । नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्