हेटौँडा । जलीय जैविक विविधता संरक्षण तथा माछा उत्पादन वृद्धि गर्ने उद्देश्यले मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयमा दुई लाखभन्दा बढी माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले बिहीबार जलाशयमा दुई लाख छ हजार माछाका भुरा छाडेको हो ।
केन्द्रका प्रमुख एवं मत्स्य विकास अधिकृत भीमदत्त भट्टका अनुसार रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जातका फ्राइ तथा फिङ्गर साइजका भुरा जलाशयमा छाडिएको हो । एक लाख रुपियाँ बराबरका माछाका भुरा मत्स्य विकास केन्द्र भण्डाराबाट खरिद गरी ल्याइएको कार्यालयले जनाएको छ ।
प्राकृतिक रूपमा तापक्रम अनुकूल नहुँदा जलाशय क्षेत्रमा माछाका भुरा उत्पादन हुन नसक्ने भएकाले प्रत्येक वर्ष जलाशयमा भुरा छाड्ने गरिएको केन्द्रले जनाएको छ । जलाशयमा रहेका माछा वयस्क नहुँदै समातिने प्रवृत्तिका कारण प्राकृतिक रूपमा प्रजनन र उत्पादन प्रक्रिया प्रभावित हुँदै आएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशअन्तर्गतका प्राकृतिक जलाशयमा चार लाख माछाका भुरा छाड्ने योजना रहेको कार्यालयले जनाएको छ । कुलेखानीमा केजमा पालन गरिएका माछा बिक्री गरेपछि पुनः नयाँ फ्राइ साइजका भुरा हालिने बताइएको छ ।
इन्द्रसरोवर रिजर्भवायर नेपालकै ठूला मानव निर्मित जलाशयमध्ये एक हो । विद्युत् उत्पादनका लागि कुलेखानी खोलामा बाँध निर्माण गरी बनाइएको यो जलाशयमा पालुङ, चित्लाङ, सेती, चखेल इनलेट, चल्खु, ठाडो र धस्कु खोलाबाट पानी संकलन हुने गर्दछ । समुद्री सतहबाट करिब १५०० मिटर उचाइमा रहेको जलाशय पूर्ण भरिँदा २१६ हेक्टर क्षेत्रफलमा फैलिने र हिउँदमा ५५ हेक्टरमा सीमित हुने गरेको छ । रिजर्भवायरको औसत लम्बाइ सात किलोमिटर र चौडाइ पाँच सय मिटर रहेको छ ।
विद्युत् उत्पादनसँगै स्थानीयलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने र प्रोटिनयुक्त खाद्य पदार्थको पहुँच बढाउने उद्देश्यले जलाशयमा केजमा माछापालनसमेत हुँदै आएको छ । प्राकृतिक प्लाङ्कटन आहारा खाएर हुर्कने सिल्भर कार्प र बिगहेड कार्प जातका माछाको केजमा पालन गरिँदै आएको छ । विसं २०४५ देखि निजी स्तरमा कृषकलाई प्रविधि सिकाएर केजमा माछापालन सुरु गरिएको थियो । पछि विसं २०६६ मा ६८५ जना सेयर सदस्यसहित इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घ स्थापना गरी केज तथा खुला तालमा माछापालन विस्तार गरिएको हो । हाल इन्द्रसरोवरमा वार्षिक ५० देखि १५० मेट्रिकटनसम्म माछा उत्पादन हुँदै आएको छ ।
कार्यालय प्रमुख भट्टले पछिल्लो समय जलाशयमा माछाको सङ्ख्या घट्दै गएकाले त्यसको पुनःस्थापना तथा माछामा आश्रित समुदायको जीविकोपार्जनलाई सहयोग पु¥याउन नियमित रूपमा भुरा छाड्ने गरिएको बताए । उनले प्राकृतिक जलाशयमा समय–समयमा माछाका भुरा छाड्दा माछा संरक्षणप्रति स्थानीयस्तरमा चेतना वृद्धि हुने विश्वाससमेत व्यक्त गरे । साथै, पछिल्लो समय इन्द्रसरोवर र थाहामा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग गरिँदा, बर्खामा बगेर आउने पानीसँगै जलाशयमा जम्मा हुने पानी पनि प्रदूषित भइरहेको छ । विषादीयुक्त पानीका कारण जलाशयमा आश्रित प्राणीहरूमा समेत असर परेको सरोकारवालाहरूले बताएका छन् ।
गोरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्