एजेन्सी । लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।
कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।
यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली थियो ।
गएको अक्टोबर ३१ मा समाप्त भएको पूर्व–राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद् असफल भएको यो पाँचौँ पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ ।
लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक–पटक खाली भइसकेको छ । लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको चुनावका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्