हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १९ बस्तीपुरमा रहेको सौर्य कृषि कम्पनी लिमिटेडले किसानहरू सँग अन्तरक्रिया गरेको छ । शुक्रवार मकवानपुरगढी, भीमफेदी, पदमपोखरीका पशुपालक किसानसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

यहाँका ३० भन्दा बढी किसान सँग कम्पनीले उत्पादन गर्दै आएको उत्पादन तथा किसानलाई सहज रूपमा दाना उपलब्ध गराउने विषयमा छलफल गरेको हो ।

कम्पनीको हेटौँडामा रहेको कारखानामा उत्पादन भएको सामाग्री हाल मकवानपुर, दाङ, सुनसरी, धनुषा, सिरहा, काठमाडौँ, मोरङ लगायत २० जिल्लाको बिक्री केन्द्र मार्फत बिक्री हुँदै आएको कारखानाका कार्यकारी निर्देशक अनुप अधिकारीले जानकारी दिए । किसानका लागि कम्पनीले सहुलियत मूल्यमा गुणस्तरीय दाना उपलब्ध गराइरहेको उनको दाबी छ ।

मकवानपुरको हेटौँडा–४, कान्ति राजपथ मुक्तिनाथ विकास बैङ्कको तल बिक्री केन्द्र राखेर माछा, गाई, भैँसी, बाख्रा र कुखुराको लागि आवश्यक दाना विक्री गर्दै आइरहेको सौर्य कृषि कम्पनी लिमिटेड डिपो म्यानेजर मञ्जु आचार्यले बताइन् ।

एक दिने अन्तरक्रिया कार्यक्रममा सौर्य कृषि कम्पनी लिमिटेड कर्पोरेट कार्यालय काठमाडौँ थापाथलीबाट आएका मार्केटिङ म्यानेजर नियाशा कुमारी ठकुरी, व्यवस्थापक भृकुटी बराल, लेखापाल शिक्षा श्रेष्ठ लगायतकाकाको सहभागिता रहेको थियो ।

नेपाली उद्यमीहरू मिलेर २०७५ सालमा सौर्य पेलेट फिड ईण्डष्ट्रिज प्रालि कम्पनी दर्ता गरेर २०८१ कार्तिक २३ गतेदेखि मकवानपुरको हेटौँडा–१९ बस्तीपुरमा व्यावसायिक उत्पादन थालनी गरिएको थियो । यहाँको कारखानाबाट कुखुरा, माछा, गाई, भैँसी, बाख्रा, बङ्गुरको लागि दाना उत्पादन तथा बिक्री वितरण हुँदै आएको कम्पनीका कार्यकारी निर्देशक अधिकारीले बताए ।