हेटौंडा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेकपाकालीन समयमा विकासका गफ बढी भएको भन्दै ओली नेतृत्वमा आधा धरहरा ठडिएको टिप्पणी गरेका छन । ‘रेल, पानी जहाजका थुप्रै कुराहरु भए आखिर निर्माण आधी हुँदैमा गरिएको धरहराको उद्घाटन र छेवैमा रहेको रानी पोखरीको स–सानो मन्दिर बनाउनेबाहेक ओलीको नेतृत्वमा के काम भयो ?’ उनले प्रश्न गरे ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ औँ बर्ष पुगेको अबसरमा हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी निर्माणको सन्दर्भलाई समेत रमाइलो पाराले ब्याख्या गरे । हतार हतार घर बनाउँदा दलिन हाल्नुपर्ने ठाउँमा भाटा परेको र भाटा हाल्नुपर्ने ठाउँमा दलिन परेको भन्दै त्यसलाई मिलाएर बलियो घर बनाउने अभियान सुरु भएको बताए । ‘केन्द्रदेखि गाउँसम्म यस्ता घटनाक्रम भएका होलान्, अब यी सबै कुराहरु सुधार गरेर बामशक्तिलाई मजबुत बनाउने गरी हामी हिँड्नेछौँ’, उनले भने । बाध्यताबस् वा जानाजान गलत ठाउँमा हालिएका दलिन र भाटाहरुलाई केन्द्रदेखि गाउँतहसम्मै मिलाउने उनको भनाई थियो ।

उनले नयाँ संविधान जारी भएपछि २०७४ सालमा पाएको ऐतिहाँसिक जिम्मेवारी पूरा गर्न तत्कालीन नेकपाले नसकेको बताए । त्यतिखेरको नेकपा, सरकार र सदनलाई जोगाउन नसक्दा अहिलेको कठिन परिस्थिति निर्माण भएको उनको भनाई थियो ।

‘तत्कालीन नेकपा एमालेको नवौ महाधिवेसनले सही कार्यनीति पारित गरेको थियो’, भूसालले सम्झँदै भने–‘तर ४४ मत नपुगेर त्यो कार्यनीति कार्यान्वयन गर्ने माधवकुमार नेपाल नेतृत्वले हार खाएकाले अहिलेको अबस्था सिर्जना भएको हो ।’ २०७४ मा नेकपाको नेतृत्वमा सरकार हुँदा हावा गफ बढी भएको, सुशासन, विकास जस्ता कुराहरु गफमै सीमित भएको उनको भनाई छ । भूसालको भनाई थियो–‘हामीले राष्ट्रिय पुँजी निर्माण र परिचालन गर्न सकेमात्रै विकासको लहर ल्याउन सक्छौँ, कृषि र विद्युतमा आधारित उद्योग चलाउँदा उत्पादन बढ्छ र त्यसले राष्ट्रिय पुँजी निर्माण अनि रोजगारीलाई आत्मसात गर्न सक्छ ।’

एक अर्काे प्रसंगमा उनले अब तत्कालै माओवादी केन्द्र र जसपासँग मोर्चा निर्माण हुने बताए । आगामी २०८४ सालसम्म ओली प्रबृत्तिको अन्त्य गरी बामशक्तिलाई मजबुत बनाउनुपर्ने भन्दै सबै मिलेर कम्युनिष्ट जनमतलाई संरक्षण गरी अघि बढ्नुपर्नेमा सबैले ध्यान दिनुपर्ने उनको भनाई छ । संसद विघटनपछि आफूहरु ओलीविरुद्ध सडक, सदन र अदालतसम्म पुगेको घटना कोट्याउँदै उनले भने–‘संसद विघटनपछि पुनः चुनाव हुने विश्वास ओलीले दिलाएका भए शेरबहादुर देउबा बोकेर अदालतमा ज्यान गए उभिने थिएनौँ’, महासचिव भूसालको भनाई थियो ।

जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको भेलामा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, स्थायी कमिटी सदस्य विरोध खतिवडा, निर्वाचन आयोग संयोजक माधव पौडेलले लगायतले मन्तब्य राखेका थिए भने स्थायी कमिटी सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, राजाराम स्याङ्तान, सूर्यचन्द्र न्यौपानेसहित बागमती प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।