हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार (आज) प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वाँगी पर्वले चेपाङ समुदायको उत्थानमा सघाउ पुर्याउँने विश्वास व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रमुख शर्माले नयाँ अन्न खाने दिनका रुपमा मनाइने न्वाँगी पर्व चेपाङ जातीको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गर्नुभएको छ । ‘भीरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै–धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वाँगी धुमधामसँग मनाउने गरिएको हो ।’ प्रमुख शर्माले भन्नुभएको छ,‘छरछिमेकी,नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज, नाचगानसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रुपमा न्वाँगीलाई लिइन्छ ।’

चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् । यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माको भनाई छ । ‘बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वाँगी जस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्वपूर्ण टेवा पु¥याउँदछ ।’ उहाँले भन्नुभएको छ,‘ चेपाङहरुको भाषा,धर्म,संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्वपूर्ण भूमिका खेल्दछ’ । लोपोन्मुख जातीका रुपमा रहेका चेपाङ समुदायको उत्थान तथा प्रगतिमा समेत यस्ता पर्वले सघाउ पु¥याउँने शर्माको विश्वास छ ।

पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको छ ।