हेटाैँडा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा माग अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि दुई दिन समय थप गरिएको छ।

पहिला आवेदन दिएकाहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक सहिष्णुता परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षासमेत लिइसकेको छ।

हेटौंडा उपमहानगरपालिका-११ थनाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालयको खुला मैदानमा भएको लिखित परीक्षामा २ हजार १ सय ५० जना सहभागी थिए। आवश्यक संख्यामा नपुगेपछि शनिबार र आइतबार आवेदन दिन सार्वजनिक सूचना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए । अझै १ सय जना भन्दा बढी संख्यामा आवश्यक रहेको उनले बताए।

जिल्ला प्रहरी मकवानपुर र सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडालाई गरेर २ हजार १ सय ३२ जना निर्वाचन प्रहरी भर्ना गरिन लागेको हो। सशस्त्र प्रहरीका लागि १ सय ७९ जना र जिल्ला प्रहरीतर्फ १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गर्न खोजिएको हो। ‘लिखित र अन्तवार्तामा उत्तीर्ण भएकाहरु पनि नआउने र खटिएकाहरुमध्ये पनि केही बीचैमा छाडेर जाने भएकाले वैकल्पिक पनि राख्नु पर्छ त्यसै भएर पुनः आवेदन माग गरिएको हो,’ प्रवक्ता बोगटीले भने, ‘शनिबार र आइतबार आवेदन लिन्छौं । अब थपिने र पहिले छनोट भएकालाई एकै पटक तालिम दिन्छौं ।’

निर्वाचन प्रहरीमा कुल संख्यामध्ये कम्तीमा ३३ प्रतिशत महिला रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन् । मकवानपुरमा मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको छ ।