हेटौंडा । हेटौंडा अस्पतालको सेवा सुधारका लागि सरोकारवालाहरु एकमत भएका छन ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा जिल्लाका सबै सरोकारवालाहरुले हेटौंडा अस्पतालको सेवा सुधारको लागि एकमत भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन ।
अस्पतालका बिषयमा सरोकारवाला बिच ६ बुँदे सर्वसम्वत निर्णय पनि भएको छ । पछिल्लो समय हेटौंडा अस्पताल, हेटौडाबाट हुने सेवा प्रवाह, अस्पतालको व्यवस्थापकीय पक्ष लगायतका विषयमा जनगुनासो बढ्दै गएको र अस्पतालको गतिविधि सम्बन्धमा सरोकारवालाहरूले उठाएका चासोको विषयमा सत्य तथ्य अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय भएको हो ।
स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्य समिति गठन गरि समितिले १५ (पन्ध्र) दिनभित्र हेटौंडा अस्पतालको सेवा प्रवाह, जनशक्तिको व्यवस्था, अस्पतालको व्यवस्थापकीय पक्षका साथै सुधार गर्न चाल्नु पर्ने आवश्यक सुझाव सहितको विस्तृत प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
समितिको सदस्यहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका चिकित्सक डा. अर्जुन सापकोटा, प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश हेटौंडाका लेखा अधिकृत होमनाथ रिजाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च नेपाल हेटौंडा नगर सचिव सरोज विडारी, सार्वजनिक सेवा सुधार संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरी र नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको प्रतिनिधि रहनेगरी समिति गठन गरिएको हो ।
त्यस्तै हेटौंडा अस्पतालको विविध पक्षमा सुधारको माग राखी अस्पताल परिसरभित्र संघर्ष गर्दै आइरहेको सार्वजनिक सेवा सुधार संघर्ष समितिले सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने र अस्पताल परिसरभित्र राखेको टेन्ट लगायका सामग्रीहरू समेत हटाउने निर्णय भएको छ ।
साथै, सार्वजनिक सरोकारको कुनै विषयमा असन्तुष्टि वा गुनासो भए सम्बन्धित निकायमा सोको जानकारी गराई आवश्यक सहयोग समेत गर्ने उल्लेख छ ।
हेटौंडा अस्पतालमा कार्यरत रहेका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरू निजी स्वास्थ्य संस्थामा कार्य गर्नुपरेमा तोकिएको समय बाहेक अन्य समयमा कार्य गर्ने तर, यसरी निजी स्वास्थ्य संस्थाहरूमा कार्य गर्ने स्वास्थ्यकर्मीहरूले सम्बन्धित निकायबाट आगामी १० दिनभित्र अनुमति लिई सक्नु पर्ने छ ।
हेटौंडा अस्पतालले अस्पतालबाट प्रवाह हुने सेवाहरू र सो सेवा प्रदान गर्नका लागि उपलब्ध स्वास्थ्य जनशक्ति, स्वास्थ्य उपचारमा लाग्ने समय र शुल्क सहितको विवरण अस्पताल परिसरमा सबैले देखसक्ने गरी राख्नुपर्ने छ ।
चिकित्सक तथा नर्सहरूको प्रत्येक दिनको डियुटी रोष्टर तयार गरी अस्पतालको सूचना पाटी, फेसबुकपेज र वेबसाईटमा समेत राख्ने व्यवस्था अनिवार्य मिलाउनुपर्ने छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू कुनै कारणवश जरूरी सरकारी काम वा अन्य कारणले बाहिर जानुपर्ने भएमा लग बुक को व्यवस्थापन गरी सोमा जनाउनुपर्ने छ ।
त्यस्तै हेटौंडा अस्पताल र सार्वजनिक सेवा सुधार संघर्ष समितिबीच भएका १५ बुंदे सहमतिहरू हेटौंडा अस्पतालले क्रमशः कार्यान्वयन गर्ने निर्णय भएको हो ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उप प्रमुख राजेश बानियाँ, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाका सचिव बद्रीबहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, हेटौंडा अस्पतालका डाक्टर रामचन्द्र सापकोटा, सार्वजनिक सेवा सुधार संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरी, रामशरण कार्की, किशोर अर्याल लगायत राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्