हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अघि बढाइएको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया रद्द भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको हो । सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता हुन लागेको खबर आएपछि बागमती प्रदेश सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको र म्याद अरु १२ दिन बाँकी रहँदै प्रदेश सरकारले अप्रिय काम गर्न नहुने भन्दै खरिद प्रक्रिया रद्द गरेको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले बताए ।

‘२८ करोडमा आउने सिटी स्क्यान मेसिन ३५ करोडमा किन्न एकप्रकारको दबाब नै आयो,’ प्रदेश सरकारकै एक मन्त्रीले भने, ‘प्रदेश सरकार नै चाहिन्न भन्ने जनमत बनिरहँदा यस्तो अलोकप्रिय निर्णय गर्नु घातक हुने ठहरसहित मुख्यमन्त्री राजेन्द्र पाण्डेले यो प्रक्रिया रद्द गरौँ भन्नु भएपछि प्रक्रिया रोकिएको हो ।’ स्रोतका अनुसार, यस्तो दबाब अरु कसैले नभएर गठबन्धनका नाममा नेपाली कांग्रेस सभापति ईन्द्र बानियाँले दिएका थिए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको सिटी स्क्यान खरिद प्रक्रिया छानबिन गर्न समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन भएको थियो ।

उपसमितिमा एमालेका सांसद चन्द्रबहादुर लामा र विवेकशीला साझा पार्टीका सांसद रमेश पौड्याल सदस्य थिए । उपसमिति सदस्य सचिव दीपक अधिकारी तोकिएका थिए । समितिको समय सीमा साउन १० गतेसम्म थियो ।

व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड रुपैयाँ बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएको समाचार ‘सिटी स्क्यान खरिदमा सेटिङः ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय’ समाचार प्रकाशनमा आएपछि प्रदेश सरकारले यसलाई चासोको विषय बनाएको थियो ।

निर्देशक सापकोटाले व्यापारीसँग मिलेमतोमा गरेको सेटिङमा नेपाली कांग्रेसको बागमती प्रदेश सभापति इन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोतको दाबी भन्दै समाचार आएपछि यसले कांग्रेस मात्र नभइ गठबन्धनको सरकामाथि नै प्रश्न थपिएको थियो ।

मेडट्रोनिक्स नेपाल प्रालिका सञ्चालकसँग काठमाडौंको एक होटलमा बसेर निर्देशक सापकोटाले सिटी स्क्यानका लागि सेटिङ मिलाएको समाचार बाहिर आएको थियो । निर्देशक सापकोटाले कांग्रेसका बागमती प्रदेश सभापति बानियाँका नाममा पनि कमिसन रकम बुझाउनु पर्ने भन्दै कमिसनको रकम बढाएको समाचार स्वास्थ्यखबरसहित विभिन्न समाचार माध्यमा आएको थियो । स्रोतका अनुसार, सुरुमा ३२ करोड रुपैयाँमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने गरी बजेटको व्यवस्था गरिए पनि कमिसनकै लागि बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्यालइएको थियो ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा तत्कालका लागि सिटी स्क्यान मेसिन खरिद जरुरी नभएको भन्दै नकिन्ने निर्णय भएपछि नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँको नाममा हाकाहाकी कमिसन माग्ने कर्मचारीहरुको नियत पनि उदांगो भएको छ ।

शक्तिखबरबाट साभार ।