हेटौँडा । लेनदेनको विवादमा एक युवकले बिहीबार आफ्नै साथीको हत्या गरेका छन् । मनहरी गाउँपालिका-६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतेका मनहरी गाउँपालिका-६ का ५०वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।

उनीहरू दुवै जना प्राय जसो सँगै मजदुरी काम गर्दै आएका थिए । जीतबहादुर धेरैजसो अम्मरबहादुरको घरमै बास बस्ने गर्थे । राति लेनदेनको कुरामा विवाद गर्दै गर्दा एक्कासी बेल्चाले अम्मरबहादुरले प्रहार गरेर जीतबहादुरलाई घाइते बनाएका थिए ।

उक्त खबर पाउने बितिक्कै सुनाचुरीस्थित प्रहरी घटनास्थल पुगेर घाइतेलाई भरतपुर अस्पताल पुर्‍याइएको थियो । उपचार गर्ने क्रममा बिहीबार बिहान उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।

प्रहरीले प्रहार गरेको बेल्चासहित अम्मरबहादुरलाई नियन्त्रणमा लिएको छ ।