हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएको हो।

गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गरेकी हुन्। चालू आवमा गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ।

बुधबार प्रस्तुत बजेटमा सबैभन्दा ठुलो हिस्सा पूर्वाधार विकास क्षेत्रलाई दिइएको छ। गाउँपालिकाले कुल बजेटको ३५.४२ प्रतिशत अर्थात् ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ पूर्वाधार विकासमा विनियोजन गरेको छ। सामाजिक विकास क्षेत्रका लागि २८ करोड १८ लाख ८ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ तथा वित्तीय व्यवस्था, सुशासन र संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ छुट्याइएको छ।

त्यसैगरी, आर्थिक विकास कार्यक्रमका लागि ५ करोड ३१ लाख १७ हजार रुपैयाँ तथा वन, वातावरण र विपत् व्यवस्थापन क्षेत्रका लागि १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ (३६.७८ प्रतिशत) पुँजीगत तथा ६२ करोड ३१ लाख रुपैयाँ (६३.२२ प्रतिशत) चालू खर्चतर्फ विनियोजन गरिएको छ।

नदीजन्य पदार्थ बिक्रीबाट सबैभन्दा बढी आम्दानी
गाउँपालिकाले आगामी आर्थिक वर्षमा आम्दानीको प्रमुख स्रोतका रूपमा नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) बिक्रीलाई लिएको छ। दहत्तर–बहत्तर बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँट, ससर्त, समपूरक तथा विशेष अनुदानमार्फत ३६ करोड ८१ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारबाट समानीकरण, सवारी कर बाँडफाँट, ससर्त, समपूरक तथा विशेष अनुदान गरी ६ करोड २६ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाले आन्तरिक स्रोत तथा बैंक मौज्दातबाट ४ करोड १५ लाख ७० हजार रुपैयाँ व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

शिक्षामा सबैभन्दा बढी २१ करोड विनियोजन
क्षेत्रगत रूपमा हेर्दा शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रका लागि २१ करोड १९ लाख रुपैयाँ छुट्याएको छ। यसअन्तर्गत बालविकास शिक्षक तथा विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा युवा–खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै शैक्षिक पूर्वाधार विस्तार तथा व्यवस्थापनमा लगानी बढाएको जनाएको छ।

स्वास्थ्य क्षेत्रका लागि ४ करोड ८२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। विपन्न नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलाइसिस तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक उपचार सहायता उपलब्ध गराइने कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको सेवा सुधार गर्ने तथा गाउँपालिकाका लागि शव वाहन खरिद गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।

कृषि र पशुपालनमा विशेष जोड
कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि गाउँपालिकाले १ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ। कृषि औजार वितरण, उत्पादनमा आधारित अनुदान, शीतभण्डार भाडा अनुदान, बाली बिमा तथा भूमिहीन किसानलाई जग्गा भाडा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ।

पशुपन्छी विकास कार्यक्रमका लागि २ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। दूधमा प्रतिलिटर प्रोत्साहन अनुदान, पशु रोग नियन्त्रण, काउम्याट वितरण तथा पशुपालन प्रवर्द्धन कार्यक्रमले निरन्तरता पाउने भएको छ। पूर्वाधार विकासतर्फ मनहरी–८ र ९ जोड्ने सडक, लोथर–पाङ्थली सडक स्तरोन्नति, वडा कार्यालय भवन निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ।

संघीय, प्रदेश र स्थानीय स्रोतसमेत जोड्दा पूर्वाधार क्षेत्रमा मात्रै ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। गाउँपालिकाले सडक सञ्जाल विस्तार, सार्वजनिक भवन निर्माण तथा सेवा प्रवाहलाई सहज बनाउने पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

महिला, बालबालिका र सामाजिक समावेशीकरणका कार्यक्रम
गाउँपालिकाले रोजगार प्रवर्द्धन कार्यक्रमका लागि ४७ लाख १७ हजार रुपैयाँ, महिला विकास कार्यक्रमका लागि १७ लाख ५० हजार रुपैयाँ, बालबालिका लक्षित कार्यक्रमका लागि २७ लाख ५६ हजार रुपैयाँ तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि १ करोड १६ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ। यसबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा विपन्न समुदायको सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत दमकल खरिद, विपद् कोष सञ्चालन, डढेलो नियन्त्रण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिने भएको छ। यस क्षेत्रका लागि १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। गाउँपालिकाले वातावरण संरक्षणसँगै विपद् जोखिम न्यूनीकरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष पुलामीमगरले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर ल्याइएको बजेटले ‘समृद्ध मनहरी’निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिन्। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरी पारित गर्न गाउँसभाको अर्को बैठक असार १३ गते बोलाइएको छ।