मनहरी गाउँपालिका वडा नं. ४ स्थित नयाँ बस्तीमा बसोबास गर्दै आएका महिलाहरु । तस्बिर अनिल पराजुली ।

हेटौँडा । बिहानको झिसमिसेसँगै दिन सुरु हुन्छ, ४२ वर्षीया ठुलमाया प्रजाको । घरमा पालेका भैँसी, बाख्रा र गोरुलाई पानी–कुडो खुवाउने, झिक्रा टिप्ने र घाँसपात हाल्ने काममै बिहानको ६ बज्छ । त्यसपछि नाम्लो र हसिया बोकेर उनी बस्ती नजिकैको जङ्गलतर्फ लाग्छिन्—पत्कर सोर्न, घाँस काट्न र दाउरा जोहो गर्न ।

जङ्गलबाट फर्किएपछि चुल्हो–चौको सम्हाल्दै खानाको जोहो गर्छिन् । खाना खाएलगत्तै फेरि भैँसी, बाख्रा र गोरु लिएर गोठालो जान्छिन् । जीविकोपार्जनका लागि उनले २ वटा भैँसी, ४ वटा बाख्रा र २ वटा गोरु पालेकी छन् । साँझ ढल्किँदा गोठालो सकेर घर फर्किन्छिन् । बस्तुभाउ बाँधेर दाना–पानी दिएपछि पुनः चुल्हो–चौकोमै उनको समय बित्छ । बस्तुभाउ र जीविकाका लागि जङ्गलमै उनको अधिकांश समय व्यतीत हुने गरेको छ ।

१२ जनाको परिवार भए पनि हाल छोरा–बुहारी छुट्टिएर बसेकाले अहिले श्रीमान–श्रीमती मात्रै रहेको प्रजाले बताइन् । “परिवार ठूलो हुँदा श्रीमान् र म दुवै जना ज्याला मजदुरी गर्न जान्थ्यौँ,” उनले भनिन्, “जाली लगाउने, तरकारी रोप्ने, मल बोक्ने—सिजनअनुसार जे काम पाइन्थ्यो, त्यही गर्नुपथ्र्यो ।” काम नपाए हातमुख जोर्न गाह्रो हुने चिन्ताले सताउने गरेको उनको भनाइ छ । ज्याला मजदुरीमा समेत महिलाले पुरुषसरह ज्याला नपाउने विभेद भोग्नुपरेको उनले गुनासो गरिन् ।

प्राकृतिक स्रोत र पशुपालनमै निर्भर प्रजा समुदायका लागि वन्यजन्तुको आतङ्क अर्को ठूलो समस्या बनेको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) मा पर्ने यस बस्तीका अधिकांशले यही पीडा भोग्दै आएका छन् । गोठालो जाँदा पटक–पटक बाघलगायत वन्यजन्तुले बाख्रा खाएको स्मरण गर्दै प्रजाले भनिन्, “दुई वर्षअघि बस्तीमाथिको डाँडामा दुई वटा बोका, खोला पारि दमारमा तीन वटा बाख्रा मारिए । एक हप्ता अघि मात्रै सँगै गोठालो जाँदै गर्दा दुई वटा बाख्रा बाघले खायो ।”

बाघको आक्रमण मात्र होइन, मनहरी क्षेत्रमा बेला–बेला मान्छे मार्ने घटना र यहाँ आउने गैँडाका कारण विद्यालय जान समेत डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । मध्यवर्ती क्षेत्रको नयाँ बस्तीमा बसोबास गर्ने स्थानीयसँग जग्गाधनी पुर्जा छैन । पुर्जा नहुँदा वन्यजन्तुबाट भएको क्षतिमा क्षतिपूर्ति पाउन समस्या भइरहेको छ । “बाघले मारेको बाख्राको फोटो खिचेर लगे पनि हामी सुकुम्बासी हौँ,” प्रजाले गुनासो गरिन्, “नम्बरी जग्गाको पुर्जा कहाँबाट ल्याउने ?”

उनले पशुपालनसँगै तरकारी र मकै खेती पनि गर्दै आएकी छन् । स्थानीय स्तरमै पाइने लोकल जातका बिउ प्रयोग गरी खेती गर्ने गरेको बताउँदै ठुलमायाले श्रीमान्–श्रीमती मिलेर घरायसी तथा खेतीपातीका काम गर्दै आएको जानकारी दिइन् । “तरकारीमा प्रयोग हुने औषधि म आफैँ हाल्छु, श्रीमानलाई त्यसको जानकारी छैन,” उनले भनिन् । औषधि हाल्दा माक्स लगाउने गरेकी प्रजाले माक्स नलगाउँदा टाउको दुख्ने र औषधि शरीरमा परे पोल्ने समस्या हुने गरेको अनुभव सुनाइन् ।

त्यस्तै २०७२ सालको भूकम्पपछाडि २०७४ मा आएको बाढी–पहिरोले लामपाखामा रहेको जमिन चिरा परेपछि फूलमाया प्रजा ‘ख’ को परिवार विस्थापित हुन पुग्यो । घरगोठसहितको जमिन बाढीले बगाएपछि उनीहरू मध्यवर्ती क्षेत्रअन्तर्गतको नयाँ बस्तीमा वन फडानी गरी बसोबास गर्न बाध्य भए ।

हाल एक कठ्ठा एलानी जग्गामा बस्दै आएको प्रजाको परिवारले खाली जमिनमा तरकारी खेती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको छ । उनीहरूले दुई वटा भैँसी, दुई वटा गोरु र चार वटा बाख्रा पालेका छन् । अरूको भैँसी अधियामा पालेर एउटा भैँसी आफ्नै बनाएको र बाख्रा पनि अधियामै पालेको फूलमायाले बताइन् । “बाढी–पहिरोले सबै लग्यो, सुकुम्बासी बस्तीमा बस्न बाध्य भयौँ,” विगत सम्झँदै उनले भनिन् ।

तरकारी खेतीबाट करिब सात हजार रुपैयाँ फाइदा भएको बताउँदै उनले “जसोतसो परिवारको जीविका चलाइरहेका छौँ,” भनिन्। तर, बेमौसममा आउने हुरी–बतास र पानीका कारण बोडी र मकै खेतीमा क्षति पुगेको स्मरण गर्दै उनले तरकारी बालीमा भएको क्षतिबापत वडाबाट क्षतिपूर्ति पाउने विषयमा आफूहरू अनभिज्ञ रहेको र हालसम्म कुनै सहयोग नपाएको गुनासो गरिन् ।

“अरूलाई सोध्दा नम्बरी जग्गाको पुर्जा चाहिन्छ भनेर वडाले माग्छ,” उनले प्रतिप्रश्न गरिन्, “बाढीपीडित भएर यहाँ आएर बसेकासँग लालपुर्जा कहाँबाट ल्याउने?” जंगलतर्फ बाख्रा र भैँसी चराउन लैजाँदा बाघले खाइदिने डर सधैँ सताइरहने उनको भनाइ छ । “वर्षेनी नयाँ बस्तीमा पालेका करिब २० वटा बाख्रा बाघले मारेको छ,” उनले अनुभव सुनाइन् ।

खेतीपाती पनि गर्दै आएकी चेपाङ समुदायकी फूलमायाले अन्नबालीमा किराको प्रकोप बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् । “पहिले गाईबस्तुको मलले मात्रै पुग्थ्यो, अहिले माटोको शक्ति हराउँदै गयो,” उनले भनिन्, “बिषादी र रासायनिक मल नहाली उत्पादनै हुँदैन ।”

पहिले हातले गोडेर झार हटाउने गरिएको भए पनि पछिल्लो समय झार मार्ने औषधिको प्रयोग बढ्दै जाँदा बिस्तारै उत्पादन घट्दै गएको उनको अनुभव छ ।

त्यस्तै खेतीपाती र ज्याला मजदुरी गर्दै २९ वर्षीया विस्मिता प्रजाले ६ जनाको परिवारको जीविकोपार्जन गर्दै आएकी छन् । सिजनका बेला उनी जङ्गलमा न्यूरो टिप्न जाने गर्छिन् । “डढेलो लागेपछि राम्रो न्यूरो पलाउँछ,” उनले भनिन्, “पहिले बस्ती नजिकैको जङ्गलमै न्यूरो पाइन्थ्यो, अहिले भने निकै कम हुँदै गएको छ ।”

पहिले न्यूरो टिपेर बिक्री गर्दा १५ सय रुपैयाँसम्म दैनिक आम्दानी हुने गरेको स्मरण गर्दै उनले अहिले भने न्यूरो खोज्न निकै टाढासम्म जानुपर्ने अवस्था आएको बताइन् । “बिहान न्यूरो खोज्न जङगल पस्यो भने फर्किँदा बेलुका पर्छ,” उनले भनिन् ।

खेतीपाती पनि गर्दै आएकी विस्मिताले पछिल्लो समय बालीनालीको उत्पादन घट्दै गएको गुनासो गरिन् । “पहिलेको तुलनामा अहिले बालीनालीमा किरा धेरै लाग्ने गरेको छ,” उनले भनिन् । त्यस्तै, ५२ वर्षीया सविता प्रजाको भोगाइ पनि उस्तै छ । पशुपालन र मेलापात गर्दै आठ जनाको परिवार पाल्दै आएकी उनले जङ्गलमा चराउन लगेको बेला बाघले चार वटा बाख्रा मारेको अनुभव सुनाइन् । “क्षतिपूर्ति पाइन्छ भन्ने थाहा नै थिएन,” उनले भनिन्, “बाख्रा मारिए पनि कुनै क्षतिपूर्ति पाइनँ ।”

३८ वर्षीया सिता प्रजाको अवस्था पनि फरक छैन । पशुपालन र ज्यालादारी गरेर पाँच जनाको परिवार पाल्दै आएकी उनको पाँच वटा बाख्रा बाघले मारेको थियो । वन्यजन्तुको आक्रमणले जीविकोपार्जनमा गम्भीर असर परेको उनी बताउँछिन् ।

बस्तुभाउ चराउन तथा घाँस–दाउरा जोहो गर्न जङ्गलमै जानुपर्ने बाध्यताका कारण जोखिम झेल्नुपरेको उनको भनाइ छ । “घाँसको बिरुवा पनि पहिले जस्तो छैन,” उनले भनिन्, “एक पटक काटेपछि फेरि पलाउन धेरै समय लाग्छ ।”

न्यूरो पाइने सिजनमा जङ्गलमा खोजेर बिक्री गर्दै आएको उनको परिवार अहिले न्यूरो नै नपाइने अवस्थाले चिन्तित बनेको छ । “पहिले जस्तो न्यूरो पलाउनै छाड्यो,” सिता प्रजाले भनिन्, “बिहान चार बजे न्यूरो खोज्न निस्कँदा घर फर्किँदा रात पर्छ ।”

जेठ र असार महिनामा न्यूरो टिपेर बिक्री गरी तेल–मसलाको जोहो गर्ने प्रजा परिवार न्यूरोको अभावले आम्दानीको महत्वपूर्ण स्रोत गुमेपछि थप समस्यामा परेको छ ।

यता मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले वडाबाट विकास बजेट समानुपातिक रूपमा गाउँटोलको आवश्यकता अनुसार विनियोजन गर्दै आएको बताएका छन् । टोल विकास संस्थामार्फत आएका योजनालाई छनोट गरी प्राथमिकताका आधारमा विकास निर्माण अघि बढाइएको उनको भनाइ छ ।

वडावासीलाई स्वनिर्भर बनाउने उद्देश्य पहिलो प्राथमिकतामा रहेकाले प्रचारमुखी कार्यक्रमभन्दा दीर्घकालीन र स्वरोजगारमुखी योजनामा जोड दिइएको वडाध्यक्ष थापाले स्पष्ट पारे । “हामीले वडाबाट स्वरोजगार सिर्जना र दीर्घकालीन प्रभाव पर्ने योजनामा बजेट विनियोजन गरेका छौँ,” उनले भने, “सामान्यतः तरकारीका बिउबिजन बाँड्ने जस्ता कामलाई प्राथमिकता दिएका छैनौँ ।”

उनका अनुसार जनतालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित वडाले बाटो र सिँचाइ जस्ता आधारभूत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । गत आर्थिक वर्षमा नयाँ बस्तीमा बाटो निर्माणका लागि बजेट उपलब्ध गराइएको स्मरण गर्दै उनले टोल विकास संस्थामार्फत माग भएर आएका बाटो र सिँचाइका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको बताए ।

वडाले जनताको आयस्तर सुधार गर्न पाडी वितरण, बाख्रा वितरण तथा बंगुर पालन गर्ने कृषकलाई सहयोग गर्दै आएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।

पर्सा राष्ट्रिय निकुञ्जको छेउमै बस्ती रहेकाले वन्यजन्तुबाट बेला–बेला समस्या हुने गरेको स्वीकार गर्दै उनले जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताए । पशु क्षतिको फोटोका आधारमा पर्सा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिका लागि सिफारिस पत्र पठाउने काम वडाले गर्दै आएको उनको भनाइ छ ।

आरक्ष क्षेत्रबाट आउने वन्यजन्तुले मानव र धनजनमा क्षति पु¥याउने समस्या पुरानै भएकाले स्थानीय सरकारको प्रयास मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले भने, “यसको समाधान सङ्घीय सरकारले नै गर्न सक्छ, स्थानीय सरकारले सीमित काम मात्रै गर्न सक्ने अवस्था छ ।”

टोल विकास संस्थामार्फत योजना माग
स्थानीय सरकारसँग समन्वय गर्दै गाउँटोलको विकासका योजना तथा कार्यक्रम यहाँका महिलाहरू टोल विकास संस्थामार्फत नै माग गर्दै आएको स्थानीय बताउँछन् । वनकरिया नयाँ बस्ती टोल विकास संस्थामा नयाँ बस्तीबाट निलमरानी खत्री प्रजा कार्यसमिति सदस्यका रूपमा आबद्ध छिन् । टोल विकास संस्थामार्फत योजना प्रस्तुत गरेपछि स्थानीय सरकारले त्यसलाई सम्बोधन गर्ने अभ्यास रहेकाले महिलाहरू संस्थामा सक्रिय रूपमा जोडिएको उनको भनाइ छ ।

“प्रत्येक महिनाको एक गते चेपाङ प्राथमिक विद्यालयमा बैठक बस्छ,” निलमरानीले भनिन्, “बैठकमा टोलको खानेपानी समस्या, सडक निर्माण, स्ल्याब ढलान, घटना दर्तालगायत विषयमा छलफल हुन्छ ।” टोल विकास संस्थामार्फत माग गरेपछि गत वर्ष टोलमा ८ लाख रुपैयाँको बजेट स्ल्याब ढलानका लागि प्राप्त भएको उनले जानकारी दिइन् । टोलका समस्या र आवश्यकताबारे प्रतिनिधित्व गर्दै ती विषयहरू बैठकमा उठाउने जिम्मेवारी आफूले लिँदै आएको उनले बताइन् ।

नयाँ बस्तीमा टोल विकास संस्था प्रभावकारी बन्दै गएको उल्लेख गर्दै स्थानीय महिलाहरूले टोलका समस्या र विकास योजनाहरू वडा कार्यालयसम्म पु¥याउन टोल विकास संस्थालाई मुख्य माध्यम बनाउँदै आएको बताएका छन् ।

यस्तै मकवानपुर महिला उत्थान समाजले समूह गठन गरी यहाँका न्यून आय भएका महिलालाई आर्थिक तथा जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको छ । स्थानीय सहजकर्ता विष्णु तितुङका अनुसार आर्थिक अवस्था कमजोर भएका महिलालाई समेटेर गठन गरिएको नयाँ बस्ती अनुग्रह कृषक महिला समूह मार्फत सहयोग प्रदान गरिँदै आएको हो ।

समूहले नियमित रूपमा मासिक ५० रुपैयाँ बचत गर्दै आएको तितुङले जानकारी दिइन् । संस्थाले फिर्ता गर्न नपर्ने अनुदानसमेत प्रदान गरेको छ । स्थानीय सम्झना प्रजालाई कुखुरा पालनका लागि २१ हजार ७ सय रुपैयाँ, फूलमाया प्रजालाई तरकारी खेतीका लागि १० हजार रुपैयाँ तथा सिता प्रजालाई बाख्रा पालनका लागि २० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको स्थानीय सहजकर्ताले बताइन् ।

त्यस्तै, घुम्ती कोषमार्फत बाख्रा पालनका लागि पाँच जनालाई जनही २० हजार रुपैयाँ सहयोग गरिएको छ । बाख्रा पालनका लागि सविता प्रजा, रिता प्रजा, चमेलीमाया प्रजा, फूलमाया प्रजा ‘क’ र फूलमाया प्रजा ‘ख’ लाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो ।

संस्थाले समूहमा आबद्ध महिलाको आर्थिक अवस्था सुधार गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने र जलवायू परिवर्तनले उनीहरुलाई पारेको प्रभाव न्यूनीकरणको लक्ष्यसहित निरन्तर जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

२०७२ सालको भूकम्पपछिका बाढी तथा पहिरोका कारण विस्थापित भएका परिवारहरू हाल नयाँ बस्तीमा बसोबास गर्दै आएका छन् । यस क्षेत्रमा करिब १ सय ५० घरधुरी रहेको स्थानीयले बताएका छन् । मनहरी गाउँपालिकाको चिसापानी, अजिङगरे, चुवारपाखा, लामपाखा र डालेवारीलगायतका विभिन्न क्षेत्रबाट विस्थापित भएका परिवारहरू नयाँ बस्तीमा आएर बसोबास गर्दै आएका हुन् । भूकम्पपछिको प्राकृतिक विपत्तिले घरबार गुमाएका परिवारहरू जीविकोपार्जन, पूर्वाधार र सुरक्षाका चुनौतीबीच नयाँ बस्तीमा जीवनयापन गरिरहेका छन् ।