हेटौंडा । पछिल्लो समय बढिरहेको डेंगी रोग संक्रमण नियन्त्रण गर्न रोटरी क्लबले हेटौंडा उपमहानगरपालिका-६ को वडा कार्यालयलाई उपकरण हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष विष्णु दाहाललाई उपकरण हस्तान्तरण गरिएको रोटरी क्लब हेटौंडाका अध्यक्ष प्रमेश प्रधानले बताए। क्लबले यसअघि वडा ५ मा पनि यस्तै उपकरण वितरण गरिसकेको छ । लामखुट्टे नियन्त्रणका लागि आवश्यक उपकरणहरू फगर मेसिन, सुरक्षात्मक पोशाक, स्प्रेइङ सेट हस्तान्तरण गरिएको हो । यी उपकरण लामखुट्टे नियन्त्रणमा प्रभावकारी हुने अध्यक्ष प्रधानले दाबी गरे ।

डेंगी नियन्त्रणमा समुदायको सत्रिय भूमिका सबैभन्दा महत्वपूर्ण रहेको भन्दै घरटोलमा सरसफाइ, पानी जम्न नदिने, टायर–ड्रममा पानी संकलन हटाउने तथा लामखुट्टे प्रजनन्स्थल नष्ट गर्ने कार्यलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए । वडाध्यक्ष दाहालले स्वास्थ्यका लागि स्थानीय तहले चाल्ने कदमलाई अझ प्रभावकारी बनाउन सहयोगी संस्थाहरुको समन्वय आवश्यक रहेका बताए ।