हेटौंडा । दलित महिला संघ (फेडो)ले हरेक सामुदायिक विद्यालयमा कम्तिमा एक जना दलित शिक्षक अनिर्वाय गर्न माग गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा ‘न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय सम्मेलन’ गर्दै संघले सार्वजनिक गरेको १६ बुँदै मागमा उक्त माग राखेको हो । जसमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक तालिम तथा आवश्यक स्रोत साधनका व्यवस्था गर्न र विद्यालयका सबै पाठ्यक्रमहरु लैंगिकमैत्री तथा जातीय समानतामा आधारित निर्माण गर्न माग गरिएको छ ।
दुई दिने सम्मेलनको बिहीबार समापन गर्दै संघले १६ बुँदै माग राख्दै घोषणापत्र सार्वजनिक गरेको हो । दलित महिला संघकी केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष पवित्रा विश्वकर्माले सार्वजनिक गरेको घोषणापत्रको १६ बुँदे मागको पहिलो नम्बरमा दलित शसक्तिकरण विधेयको मस्यौदा तयारी गरी प्रदेश सभामा पास गरी कानून बनाएर कार्यान्वयन गर्न र उक्त विधेयक लैंगिकमैत्री बनाउन माग गरिएको छ ।
यसैगरी, संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता भित्र हरेक क्षेत्रमा दलित महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । लैंगिक न्यायलाई आत्मसाथ गदै लैंगिक उत्तरदायी तथा दलित उत्तरदायी बजेट र त्यसको कार्यान्वयनलाई परिणाममुखी बनाउन पनि दलित महिलाका लागि विशेष बजेट व्यवस्था गर्न माग गरेको छ । जारी गरिएको घोषणापत्रलाई बागमती प्रदेशका मुख्यमन्त्रीलाई हस्तान्तरण गरिने संघले जनाएको छ ।
बागमती प्रदेशका १३ जिल्लाका स्थानीय तहमा रहेका दलित महिला जनप्रतिनिधिहरुसहितको सहभागिता रहेको सम्म्मेलनमा बागमती प्रदेश सभा सदस्य सुना परियार, पूर्व प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्खे, नेकपा एसका प्रदेश कमिटी अध्यक्ष बन्दना सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
दलित महिला संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको सभाध्यक्षतामा भएको घोषणापत्र जारी कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा सोबको प्रमुख आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्