हेटाैँडा । २०५९ सालदेखि जग्गा भोगचलन गर्दै आएका मकवानपुरको मनहरी गाउँपालिका– ६, नयाँबस्तीका चन्द्रलाल थिङले बिहीबार पहिलोपटक आफ्नो जग्गाको निस्सा पाएका छन् ।
लामो समयदेखि बसोबास र खेतीपाती गर्दै आए पनि जग्गाको नापी नभएका कारण जग्गाधनीको पहिचानसमेत नपाएका थिङ गाउँपालिकाले जग्गा नापजाँच गरी निस्सा हस्तान्तरण गरेपछि खुसी भएका छन् ।
मकवानपुरको सरिखेतमा गएको बाढीपहिरोबाट विस्थापित भएपछि नयाँबस्तीमा बसोबास गर्दै आएका थिङले अब लालपुर्जासमेत पाउने आशा व्यक्त गरे ।
मनहरी गाउँपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच, प्रमाणीकरण र निस्सा वितरणको काम बिहीबारदेखि सुरु गरेपछि थिङले पहिलोपटक यस्तो अवसर पाएका हुन् ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा थिङको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको हो ।
सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेपछि कानुनी अवरोध हटेको भन्दै गाउँपालिकाले लामो समयदेखि रोकिएको काम अघि बढाएको हो । नेपाल सरकारले गत असोज २७ गते भूमि र वनसम्बन्धी छुट्टाछुट्टै अध्यादेश जारी गरेको थियो। त्यसपछि संघीय मन्त्रालयको परिपत्रका आधारमा गाउँपालिकाले जग्गा नापजाँच र प्रमाणीकरण प्रक्रिया सुरु गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष कालाखेतीका अनुसार मनहरी– ६ मा सबैभन्दा धेरै अव्यवस्थित बसोबासी रहेकाले यही वडाबाट काम सुरु गरिएको हो । वडा नम्बर ६ र १ मा बिहीबार एकैसाथ जग्गा नापजाँचको काम सुरु गरिएको उनले जानकारी दिए ।
जिल्ला नापी कार्यालय र गाउँपालिकाका अमिनसहितको टोलीले गाउँपालिकाका सबै वडामा जग्गा नापजाँच तथा प्रमाणीकरण गर्नेछ । दुई महिनाभित्र सबै वडाको काम सक्ने लक्ष्य राखिएको अध्यक्ष कालाखेतीले जानकारी दिए । ‘हामीले आज ६ र १ नम्बर वडाबाट एकसाथ जग्गा नापजाँचको काम सुरु गरेका छौँ । चाँडो काम सक्नका लागि ज्यालादारीमा अमिन राखेर काम अघि बढाउँदै छौँ,’ उनले भने ।
अध्यक्ष कालाखेतीले जग्गा नापजाँचको काम व्यवस्थित र विवादरहित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । स्थानीय तहले जग्गाको विवरण संकलन तथा नापजाँचको काम छिटो सम्पन्न गरेर भूमिसम्बन्धी समस्या समाधानको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामीले लामो समयदेखि जग्गा भोगचलन गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नापजाँच र प्रमाणीकरण प्रक्रिया सुरु हुनु सुखद भएको बताइन् ।
उनले जग्गाको नापजाँचका क्रममा विवाद हुन नदिन तथा प्रक्रिया सहज बनाउन सबै राजनीतिक दल, स्थानीय बासिन्दा र सरोकारवालालाई सहयोग गर्न आग्रह गरिन् ।
मनहरी– ६ का वडाध्यक्ष युवराज थपलियाका अनुसार यस वडामा मात्रै दुई हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको अनुमान छ । धेरै परिवार लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्वसम्बन्धी प्रमाण नहुँदा विभिन्न समस्या भोग्न बाध्य छन् ।
मनहरीमा आठ हजारभन्दा बढी परिवार भूमिसम्बन्धी समस्यामा मनहरी गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेको थियो ।
गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र चौलागाईंका अनुसार उक्त तथ्यांकमा भूमिहीन दलित १०१ परिवार, भूमिहीन सुकुमबासी ७२७ परिवार र अव्यवस्थित बसोबासी सात हजार ७२४ परिवार सूचीकृत छन् । त्यसपछि छुट दर्ता भएका थप दुई सय परिवारसमेत रहेको उनले जानकारी दिए ।
चौलागाईंका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुमबासीको पहिचान तथा प्रमाणीकरणका लागि आवश्यक विवरण भूमि समस्या जिल्ला समितिमा पठाइसकिएको छ । अहिले गाउँपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र निस्सा वितरण गरी उनीहरूको विवरण जिल्ला समितिमा पठाउने काम अघि बढाएको छ ।

















प्रतिक्रिया दिनुहोस्