हेटौंडा । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणका कारण मकवानपुर र चितवनमा एक÷एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।
प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङक अनुसार धादिङमा २ हजार १३०, काठमाडौंमा २११, मकवानपुरमा १७७, ललितपुरमा १५८, चितवनमा १२८, भक्तपुरमा ११७, नुवाकोटमा ७१, रामेछापमा ३८, काभ्रेपलाञ्चोक ३५, सिन्धुलीमा २४, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रवार एकसय ३६ जनामा डेंगु पुष्टी भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ष्ट १८ सम्म १ हजार ९४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ ।
पछिल्लो तथ्याङक अनुसार प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ, मन्त्रालयका सूचना अधिकारी भुसालले भने–“नियन्त्रणका लागि मन्त्रालयले जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । धादिङमा हामीले स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्यौं, अन्य जिल्लाका स्थानीयतहसंग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाएका छौं । धादिङमा संङ्क्रमितको संख्या धेरै बढेकाले अस्पतालमा छुट्टै वार्डमा राखेर विरामीको उपचार भईरहेको छ ।” प्रदेशमा आवश्यक परेको डेंगु किटहरु मागको आधारमा स्वास्थ्य मन्त्रालय अन्र्तगतको आपूर्ति मार्फत उपलब्ध गराईरहेको उनले बताए ।
पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिम देखिएको छ । साउनमा डेंगु रोग सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरु नियन्त्रण र रोकथाम गर्न बिभिन्न शिर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुषालले जानकारी दिए । गोरखापत्रबाट साभार


अनिल पराजुली 








प्रतिक्रिया दिनुहोस्