हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय अपराध नियन्त्रण विधेयक तर्जुमा गर्नुपूर्व बिहीवार हेटौँडामा अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संविधानले दिएको अधिकार प्रयोग गरेर २०८० सालको अन्तिम सम्ममा बागमती प्रदेशमा विद्युतीय अपराध नियन्त्रण ऐन निर्माण गर्ने प्रतिवद्धता जनाए ।
छलफलबाट प्राप्त भएका सुझावका आधारमा प्रदेश सरकार अन्र्तगत रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून समस्यौदा समितिको छिट्टै बैठक बसेर थप विज्ञहरुसँग छलफल गर्ने जानकारी दिर्दै उनले चाडै मस्यौदा तयार गरेर मस्यौदा माथि नागरिक समाज, कर्मचारी, दलका प्रतिनिधिहरुसँग छलफल पश्चात प्रस्ताव तयार गरेर प्रदेशसभामा प्रस्ताव पेश गर्ने तयारी गरिरहेको बताए ।
संघीय सरकारले साइबर क्राइम सम्बन्धी कानून नबनाएपनि बागमती प्रदेश सरकारले सुरुवातका लागि पूर्व तयारी गरेको उनको भनाई छ । प्रदेश सरकार महत्वाकाँक्षी जस्तो पनि लाग्न सक्ने बताउँदै उनले संघीय सरकारलाई साइबर सम्बन्धी ऐन बनाउनका लागि गृह, कानून मन्त्रालय र सूचना सञ्चारमा जानुपर्ने बाध्यता रहेपनि बागमती प्रदेशमा तीनवटै मन्त्रालय एकै ठाउँमा रहेकाले कानून ड्राफ्ट गर्ने, प्रस्तुत गर्ने र पासभएपछि कार्यान्वयन गर्ने सबै हिसावले सहज रहेको धारण व्यक्त गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न प्रसाद ढकाल, नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौँडा प्रमुख एवं प्रहरी नायव महानिरिक्षक किरण राण लगायतकाले कानून बनाउन चुनौतिपूर्ण रहेको बताउँदै कार्यान्वयन गर्न सकिनेगरि कानून निर्माण हुनुपर्ने सुझाव दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव धु्रव गैडाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग हुँदा गलत सूचना प्रवाह, दुस्प्रचार, वदनियत भेदभाव, घृणा पूर्ण अभिव्यक्ति दिने गतिबिधि बढेकोमा चिन्ता व्यक्त गरे । फेसबुक, टिकटक, भाइबर, ह्वाट्सपलाई गलत रुपमा समाजले प्रयोग गरेको जिकिर गर्दै सामाजिक सञ्जालबाट चरित्रहत्या, ठगी, मानव बेचबिखन, तस्करी, फिरौती लगायतका गतिबिधि हुनेगरेको बताए ।
स्रोत व्यक्ति एवं विज्ञ डा.श्रीकृष्ण भट्टराईले विद्युतीय अपराध सम्बन्धी अन्तराष्ट्रिय अवस्था र नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी निरिक्षक उमेशप्रसाद साहले नेपालमा पर्ने साइबर उजुरीका बिषयमा प्रस्तुती गरेको कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले उद्देश्यमाथि प्रकाश पारेका थिए ।













प्रतिक्रिया दिनुहोस्