हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन । हेटौँडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको ५६ औ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षा दिएर निजीबाट सामुदायिक विद्यालय आउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

मकवानपुरको शैक्षिक क्षेत्रमा आधुनिक माविको अतुलनीय योगदान रहेको स्मरण गराउँदै अब्बल माविको रूपमा स्थापित भएको बताए । उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिन सके अभिभावक मोटो रकम तिरेर निजी विद्यालयमा आफ्ना बच्चा पढाउन बाध्य हुने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । हामीले विद्यार्थी खोज्ने होइन, विद्यार्थीले विद्यालय खोज्ने वातावरण सिर्जना गर्नुपर्छ, उनले भने ।

अब बिस्तारै मेघा विद्यालयमा जान जोड दिर्दे मकवानपुर अब शिक्षाको क्षेत्रमा अब्बल हुनुपर्ने उनको तर्क छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा मकवानपुर अन्त जान नपर्ने अवस्थाको सिर्जना भइरहेको बताउँदै पौडेलले विदेशिने मानसिकता हटाएर स्वदेशमै अध्ययनन र रोजगारीको सिर्जना गर्न सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिनानाथ गौतमले सामुदायिक विद्यालय मध्य आधुनिक अब्बल रहेको बताए । हेटौँडा उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नवीन सिग्देलले शिक्षा क्षेत्रलाई वृहत अगाडि बढाउन मेघा विद्यालयको अवधारणामा जानुपर्ने तर्क गरे । उनले जिल्लाका सामुदायिक विद्यालय मर्ज गर्न जरुरी भइसकेको बताउँदै समुदायका शिक्षक, कर्मचारी सबैले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाका क्याम्पस प्रमुख डाक्टर यम सिलवालले हेटौँडालाई शिक्षाको क्षेत्रमा चिनाउन आधुनिकको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सामुदायिक विद्यालय सक्षम भएको उदाहरण बन्न सफल भएकोमा प्रशंसा गरे । विद्यार्थीको गुणस्तरका लागि विद्यालयले गरेको शैक्षिक गतिविधि अन्य सामुदायिक विद्यालयले पनि सिक्न जरुरी रहेको उनको भनाइ छ ।

हेटौँडा क्याम्पस प्रमुख देवीराम लामाले सबैको साथ र सहयोगबाट विद्यालयले सफलता हासिल गरेकाले त्यसलाई जोगाउन चुनौती रहेको बताउँदै शैक्षिक गतिविधि उत्कृष्ट भएकाले अझै थप सफलता हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार र शिक्षण सेवा निवृत्त हुनुभएका शिक्षकलाई सम्मान गरिएको थियो । २०२४ साल जेठ २ गते प्राविबाट सुरू भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्ये एक हो भने सामुदायिक विद्यालय तर्फ दुई दशकदेखि जिल्ला प्रथम हुन सफल भएको आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाइले जानकारी दिए ।

साना साना टहराबाट सञ्चालन भएको यस विद्यालयमा २०३६ सालबाट एसएलसी र २०६७ बाट कक्षा १२ सम्मको अध्यापन सुरु गरिएको थियो । नमुना विज्ञान विद्यालय समेत रहेको यो सामुदायिक विद्यालय जिल्लाको मात्रै रोजाइमा नभइ मधेश प्रदेशका जिल्लाबाट पनि विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउने गरेको आधुनिक राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिमले बताए । हाल यस विद्यालयमा २ हजार ७६८ बिद्यार्थी अध्ययनरत रहेका छन ।