हेटौँडा । दुग्ध विकास संस्थान (डीडीसी) का दुग्धजन्य सामग्रीको बिक्री तथा वितरण सहज बनाउन हेटौँडामा पहिलो पटक दुई वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौँडा–४ स्थित हुप्रचौर नजिकको बिक्री केन्द्रको आइतबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरिन्। अर्को बिक्री केन्द्र हेटौँडा–२, कान्तिराजपथमा सञ्चालनमा ल्याइएको छ ।
बिक्री केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख लामाले डीडीसीका उत्पादन उपभोक्ताले सहज रूपमा खरिद गर्न पाउने बताइन। उनले स्वदेशी उत्पादनको प्रवर्द्धनमा बिक्री केन्द्रले सहयोग पुर्याउने उल्लेख गर्दै हेटौँडा दूध उत्पादनको केन्द्रका रूपमा समेत विकास हुँदै गएको बताइन्।
हुप्रचौर नजिकको बिक्री केन्द्र सञ्चालन गर्न करिब २० लाख रुपियाँ र कान्तिराजपथस्थित केन्द्र सञ्चालन गर्न करिब १० लाख रुपियाँ लगानी गरिएको सञ्चालक फेन्चु लामा रुम्बाले जानकारी दिए । बिक्री केन्द्रमा दूध, दही, मोही, याक चिज, पनिर, घ्यू, आइसक्रिम, रसबरी र लालमोहनलगायत डीडीसीबाट उत्पादित करिब ३० प्रकारका दुग्धजन्य सामग्री उपलब्ध हुनेछन् ।
डीडीसीले निर्धारण गरेको मूल्यमा सामग्री बिक्री गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य वस्तु उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक रुम्बाले बताए ।
डीडीसी हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले गुणस्तरीय दुग्धजन्य पदार्थ सुरक्षित रूपमा बिक्रीवितरण गर्न तथा संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउन बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
केन्द्रीय स्तरको निर्णयअनुसार किसानको मेहनतबाट उत्पादित दूधबाट बनेका स्वच्छ तथा गुणस्तरीय दुग्धजन्य सामग्री उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए ।
डीडीसीले मकवानपुर, बारा, रौतहट र सर्लाहीबाट दूध सङ्कलन गर्दै आएको छ । संस्थानले दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । उपलब्ध विवरणअनुसार हेटौँडा, चितवन र वीरगञ्जमा करिब पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने बाँकी करिब १० हजार लिटर काठमाडौँ पठाउने गरिएको छ । घ्यू तथा मिठाईजन्य सामग्री पनि काठमाडौँ पठाउने गरिएको छ ।
सरकारी स्वामित्वको डीडीसीका उत्पादनको बिक्री पछिल्लो समय बढेको जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि संस्थानका उत्पादनको बिक्री ४० प्रतिशतले बढेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्