हेटौंडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोह्रलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१५ का मिलन पाख्रिन, हेटौंडा–१५ कैरत्न बहादुर गोले, बकैया गाउँपालिका–८ का संजिव भोलन, बकैया–८ कै रमेश लोप्चन, ईन्द्रसरोबर गाउँपालिका–५ का सुवाष बोम्जन र हेटौंडा–१९ का अशोक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बिभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने एवं चोरी नियन्त्रण गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गत जेठ ०२ गते हेटौंडा उपमहानगरपालिका–१६ स्थितबाट मिलन र रत्न बहादुरलाई बा.प्र.०२–०३ प २१९६ नम्बरको नम्वर प्लेट राखेको अवस्थामा चोरीको मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

उनीहरुलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल बकैया–८ बस्ने बर्ष १९ को संजिवले बिक्री गरेको बयान दिएपछि संजिवको साथबाट बागमती प्रदेश ०२–०४१ प ३९०८ नम्बरको प्लेट भएको २२० सि.सि.को चोरीको मोटरसाइकल बरादम गरेको थियो । अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलहरु बकैया–८ बस्ने बर्ष ३३ को रमेश र ईन्द्रसरोबर–५ बस्ने बर्ष २९ को सुवाशले दिएको खुलेको थियो ।

संजिवको साथबाट फेला परेको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु अशोकलाई बिक्री गरेको भनि खुलेको थियो । अशोकले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नम्बरको मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखेर स्वरुप परिवर्तन गरेको समेत पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । साथै चोरी भएका बा.प्र.०२–०३८ प ७५८१ नम्बरको एन.एस.र बा.प्र.०२–०३३ प ६०२० नम्बरको ड्यूक मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।