हेटौँडा । मकवानपुरमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसको बिरामीको सङ्ख्या उकालो लाग्दै गएको छ । डेढ महिनाको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी १७३ जना र मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या ९० पुगेको तथ्याङ्क छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार डेढ महिनाको अवधिमा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । जिल्लामा डेढ महिनामा ६१ महिला र २९ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकामा ५०, मकवानपुरगढीमा ११, मनहरीमा १०, बकैयामा ९ जना र भिमफेदीमा ५ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन । त्यस्तै बागमती, कैलाश, इन्द्रसरोबर, राक्सिराङ र अन्य जिल्लाका एक एक जना प्रभावित भए ।
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
त्यस्तै पुरुष ७९ र महिला ९४ सहित भदौ दोश्रो सातासम्म मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या १७३ पुगेको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ ५६ पुरुष र ७२ महिलागरी १२८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १६ जना, मकवानपुरगढी गाउँपालिकामा १३, बकैया गाउँपालिकामा ६, भीमफेदी गाउँपालिकामा ३ जना, कैलाशमा २, र बागमती गाउँपालिकामा एकजनामा डेङ्गु पुष्टि भएको हो ।
अन्य जिल्लाका ३ जना र ठेगाना नखुलेको एक जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवर, राक्सिराङ गाउँपालिकामा र उत्तरी क्षेत्र थाहा नगरपालिकामा साउनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । गत आवमा जिल्लामा ८९१ जनामा डेंगु पुष्टि भएको थियो ।
मुख्य रूपमा सरसफाइमा ध्यान दिएको खण्डमा डेंगु र स्क्रब टाइफसबाट बच्न सकिने सूचना अधिकारी घिमिरेले बताए । डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले हरेक दिन पानी फेर्ने र पानी जम्ने खाल्डाखुल्डीहरू पुर्नुका साथै झाडी सफा गरेमा यो रोगको सङ्क्रमण न्यूनीकरण गर्न सकिने उनले बताए । पछिल्लो समय जिल्लामा दिनहुँ डेंगु र स्क्रब टाइफस बढ्दै गएकाले जोगिन उनले सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्