मकवानपुरको कैलाश गाउँपालिका–७, कोथलीटारकी सजनी चेपाङ अहिले सोही गाउँपालिकाको भवानी माविमा विद्यालय नर्सका रूपमा काम गर्दै आएकी छन् । २५ वर्षकी उनले यसरी काम गर्न थालेको चार वर्ष भयो । बिहान १० बजेदेखि चार बजेसम्म उनी विद्यार्थीमाझ नै हुन्छिन् । उनले हेर्ने विद्यार्थीको संख्या मात्र छ सय ६० छ । सानैदेखि उनको नर्सिङ पढ्ने सपना थियो । तर, आर्थिक अवस्था बाधक बन्न पुग्यो  तरहिम्मत हारिनन् । नेपालगन्जको भेरी नर्सिङ कलेजमा छात्रवृत्तिमा नाम निकालेर त्यतै पढ्न गइन् । ‘त्यहाँ २०७३ सालमा भर्ना भएर २०७६ मा पास भएँ,’ उनी भन्छिन्, ‘सानो हुँदा ठूलो दाइले बहिनीलाई नर्स पढाउनुपर्छ भन्नुहुन्थ्यो, त्यो सपना अहिले पूरा भएको छ ।’

नर्स पढ्न उनले गरेको संघर्ष भने तीतो छ । २०७१ सालमा एसएलसी पास भएपछि आर्थिक अवस्था कमजोर हुँदा नर्स पढ्ने अवस्था भएन । ‘त्यसपछि व्यवस्थापन संकाय पढ्न क्याम्पसमा भर्ना भएँ,’ उनी भन्छिन्, ‘यही बेला छात्रवृत्तिमा नर्स पढ्न नाम निस्किएर नेपालगन्ज गएँ ।’ अहिले उनको घरमा बुवाआमाबाहेक सबै जागिरे छन् । उनका दुई दाजु र एक भाइ हुन् । उनले काम गर्ने विद्यालयमै जेठादाइ दीपकुमार राहत शिक्षकका रूपमा पढाउँछन् । माइला दाइ सरोज नेपाली सेनामा छन् । भाइ सुनील प्रावि शिक्षकमा नाम निकालेर लमजुङमा छन् । बुवाआमा खेतीपातीको काम गर्छन् ।

‘घरमा खानाको समस्या थिएन, तर पैसाको अभाव भइरह्यो,’ सजनी भन्छिन्, ‘जस्तो दुःख आइपरे पनि पढ्न भने कहिल्यै छाडिएन।’ चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्ने समस्या हटिसकेको छैन । जुन उनलाई मन पर्दैन । आफ्नो खुट्टामा आफैं उभिएर विवाह गर्ने उनको सोच छ ।

उनले विद्यालयमा विद्यार्थीलाई महिनावरी हुँदा सेनेटरी प्याड उपलब्ध गराउँछिन् । ‘यसको प्रयोग र व्यवस्थापनबारे सिकाउँछु, पोषण र सरसफाइसम्बन्धी पनि शिक्षा दिन्छु,’ उनी भन्छिन्, ‘प्राथमिक उपचार सेवा पनि विद्यालयमै उपलब्ध गराइएको छ ।’ घरबाट विद्यालय पुग्न एक घण्टा लाग्छ । तर बर्खामा खोलामा बाढी आउने भएकाले उनी त्यो अवधिभर विद्यालयको होस्टलमै बस्छिन् । नारीबाट साभार