हेटाैँडा। बागमती प्रदेश सरकार मातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा सर्वसाधारण नागरिक मारमा परेका छन् ।

नेपाल चिकित्सक सङ्घले शुक्रबार गरेको आन्दोलनका कारण हेटौँडा अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गर्दा नागरिक सामान्य स्वास्थ्य सेवाबाट पनि वञ्चित भएका हुन् ।

हेटौँडा बजार क्षेत्रबाट मात्र नभएर ग्रामीण क्षेत्रका नागरिकसमेत उपचारका लागि अस्पताल आएकोमा उपचार नपाएर फर्किएका छन् । मकवानपुरको कैलाश गाउँपालिकाको नामटारबाट उपचार स्वास्थ्य समस्या भएर बिहानै घरबाट हेटौँडा अस्पतालमा उपचारका निस्केका वीरमान मोक्तान अस्पतालमा चिकित्सक नभेटिएपछि अस्पतालको प्रवेशद्वारमा टुक्रुक्क निराश भएर बसिरहेका थिए ।

स्वास्थ्य समस्या भएर असहज भएपछि उपचारका लागि गाउँबाट खर्च गरेर आए उनले भने, अस्पतालमा उपचारका लागि आउँदा ओपिडी सेवा बन्द रहेछ, असहज भइरहेको छ तर उपचार पाउन सकिन ।

“लामो समयदेखि बिरामी छु निजीमा जाने क्षमता छैन सरकारीमा आउँदा चिकित्सक नै छैनन्, टिकट पनि काट्दैनन् डाक्टरले आन्दोलन भनेर काम नगर्ने भनेपछि उपचार नै नपाइने भयो”, उनले भने ।

अस्पतालको टिकट काट्ने कक्ष सुनसान रहेको छ । ओपिडीका चिकित्सकका सबै कक्षमा ताला झुण्ड्याइएको छ । अस्पतालमा सेवा लिन दूरदराजबाट आएका बिरामी यसै फर्कन बाध्य छन् ।

यस्तै, अस्पतामाल उपचारका लागि आउने  वीरमान जस्तै अन्य सेवाग्राही आउँदै अस्पतालको टिकट काट्ने ठाउँमा सोध्दै फर्केको देखिन्थ्यो । उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीकी सावित्री महतले उपचार नपाएर फर्कनु परेको भन्दै आक्रोश व्यक्त गरिन ।  “यो घाममा उपचार सेवाका लागि आए तर बन्न रहेछ”, उनले भनिन।

घरबाट अस्पताल आउँदा र जाँदाको तीन सय रुपियाँ तिर्नु पर्छ उहाँले भन्नुभयो, उपचार भने छैन अब यसै फर्कनुपर्ने भयो । उनले स्वास्थ्य समस्या भएर आएको अस्पताल त सुनसान रहेछ, डाक्टर पनि रहेनछन् यसै फर्कनु परेको बताइन ।

यस्तै हेटौँडा उपमहानगरपालिका १३ पदमपोखरीका कृष्णप्रसाद दाहालले फलोअपका लागि आउँदा ओपिडी सेवा बन्द गरेकोले उपचार नै नगरी फर्कन बाध्यभएको बताए । स्वास्थ्य उपचारका लागि आएका नागरिकलाई सास्ती दिने काम भयो उनले भने, “आन्दोलन नै गरे पनि सबै जनाले सेवा बन्द गरेर नागरिकलाई सेवाबाट विमुख गरिनु मानवाताका दृष्टि पनि ठीक होइन समस्या भएर आएको हो ।”

हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँले सम्पूर्ण रूपमा सेवा बन्द नगर्ने भनिएकोमा चिकित्सकको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको बताए। सङ्घको आव्हानमा शुक्रबार सबै सरकारी अस्पताललगायतको आकस्मिक बाहेकका स्वास्थ्य बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक ३०औँ दिनदेखि आन्दोलनमा उत्रिदा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि सबै सेवा ठप्प पार्न बाध्य भएको सङ्घको जिकिर छ ।

सङ्घले आफ्ना माग सम्बोधन नभएका कारण देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा शुक्रबारबाट ठप्प पार्ने यसअघिनै चेतावनी दिएको थियो ।  गाेरखापत्रबाट

Visited 219 times, 1 visit(s) today