हेटौंडा । अफिम ओसारपसार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले तीन युवकलाई ५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले जनही ५ हजार रुपैयाँ जरिवाना गर्नेसमेत आदेश गरेको थियो ।

जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको मंगलबार बसेको इजलासले मकवानपुरको कैलाश गाउँपालिका–७ का २४ वर्षीय मार्कोस चेपाङ, राक्सिराङ गाउँपालिका–७ का २३ वर्षीय शिवलाल चेपाङ र राक्सिराङ–७ का २५ वर्षीय नेत्रलाल चेपाङलाई अफिम ओसार–पसार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

२०८१ भदौ २७ गते एक ग्राम अफिमसहित तीन जनालाई प्रहरीले हेटौंडा बसपार्कबाट पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरुको साथबाट २ केजी ५ सय ग्राम पिठो पनि बरामद गरेको थियो । पिठोलाई अफिम जस्तै कालो बनाएर प्लाष्टिकमा प्याक गरेका थिए ।

प्रहरीको प्रयोगशालामा परीक्षण गर्दा एक ग्राम अफिम र २ केजी ५ सय ग्राम पिठो प्रमाणित भएको थियो । पिठोलाई अफिम भनेर झुक्याएर बिक्री गर्न ग्राहकको प्रतिक्षामा थिए ।

जिल्ला अदालत मकवानपुरले तीनै जनालाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाएको थियो । पाटन उच्च अदालत हेटौंडा इजलासले नेत्रलाल चेपाङसँग एक लाख, मार्कोस र शिवलालसँग ३५/३५ हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्ने आदेश गरेको थियो ।

उक्त आदेश अनुसार उनी तारेखमा रहेर मुद्दाको सामना गरिरहेका थिए । लागुऔषधको कानुन अनुसार एक ग्रामदेखि २५ ग्रामसम्म अफिम कारोबार गर्नेलाई ५ वर्ष कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ । यसैगरी २५ ग्रामदेखि सय ग्राम अफिमसहित पक्राउ परेका व्यक्तिलाई अदालतले १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाखदेखि २५लाख रुपैयँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।