हेटौँडा । हेटौँडा–४, मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) प्रधानाध्यापक माधवप्रसाद दाहालले सेवाबाट अवकाश पाएका छन् । उमेर हदका कारण अवकाश भएका उनको आइतबार बिदाइ गरिएको छ । गत शनिबारबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश भएपछि आइतबार बिद्यालयले उनको बिदाइ गरेको हो ।
दाहालको अवकाश पश्चात निमित्त प्रअको जिम्मेवारी विद्यालयमै कार्यरत सहायक प्रअ सूर्यप्रसाद घिमिरेलाई दिइएको छ । दाहालको बिदाइ कार्यक्रममा निमित्त प्रअ घिमिरेको स्वागत समेत गरिएको हो ।
दाहाल ५ जेठ २०४८ मा माध्यमिक तहको गणित बिषय शिक्षकको रुपमा भुटनदेवी माविमा नियुक्त भइ करिब ३५ वर्ष सेवारत रहे । २०६३ सालमा स्थायी नियुक्ति भए पश्चात दाहाल ७ कात्तिक २०६७ देखि उक्त बिद्यालयको प्रअ नियुक्त भइ कार्यरत थिए । उहाँको प्रअ कार्यकालमा २०७० सालबाट साधारणतर्फ अँग्रेजी माध्यमसँगै प्राबिधिक धारतर्फ पनि पठनपाठन शुरु भएको विद्यालयले जनाएको छ । करिब ७ सयको संख्यामा अध्ययन रहेको विद्यालयमा साधारण र प्राविधिक धारतर्फ समेत गरि २४ सय बिद्यार्थीहरु अध्ययनरत छन् ।
बिदाइ कार्यक्रममा दाहालले भने ’विद्यालय मेरो मुटु हो, मलाई माया गरिरहँदा विद्यालयको शैक्षिक विकासमा समेत योगदान गर्नुहोस् ।’ बिद्यालयले समपसापेक्ष परिस्कृत बिषय तथा कार्यक्रमहरु थप्दै जानुपर्ने सुझाव समेत दिए । उनले विद्यार्थी संख्या वृद्धिसँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिनुपर्ने उनले जोड दिए ।
बिदाइ कार्यक्रममा हेटौंडा उपहानगरपालिका २ नम्बर वडाध्यक्ष तथा भुटनदेवी अल्मुनाई एसोशियसन अध्यक्ष बिष्णु गोपाल महर्जन, विद्यालयका निमित्त प्रधानाध्यापक सुर्य प्रसाद घिमिरे, श्रमिक माविका प्रअ तथा शैक्षिक गुणस्तर सुधार समिति ४ नम्बर वडा संयोजक श्रीराम दाहाल, विद्यालयका पूर्व प्रधानाध्यापक देव श्रेष्ठ लगायतले दाहालको सेवा निवृत्त जीवन सहज क्रियाशीलताको कामना गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आधुनिक माविका प्रअ रामसागर गुरागाईं, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शैक्षिक व्यक्तित्व तथा बिद्यालयका शिक्षक, कर्मचारीलगायतकाको उपस्थिति थियो ।












प्रतिक्रिया दिनुहोस्