हेटाैँडा । मकवानपुरकै विकट मानिने कैलाश गाउँपालिकामा २८२ घरधुरीका लागि खानेपानी धारा निर्माण गर्न गाउँपालिका, वाइन टु वाटर नेपाल र उपभोक्ता समितिबिच त्रिपक्षीय सम्झौता भएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ र सम्बन्धित उपभोक्ता समितिका अध्यक्षहरूले बुधबार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

वाइन टु वाटर नेपालले गाउँपालिकाका विभिन्न वडामा चरणबद्ध सर्भे गरेपछि पाँचवटा योजनालाई छनाेट गरेको हो। सम्झौताअनुसार योजनामा गाउँपालिकाको २५ प्रतिशत, संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहनेछ। यस परियोजनाले २८२ घरधुरीका एक हजार ७३२ स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाका अध्यक्ष मुक्तानले बताए।

सम्झौताअनुसार वडा ६ को मराङसिंह आगेटारमा ६४ घरधुरी, वडा ७ को कोथलीटार–बस्तालमा ६८, वडा ८ को वाक्सिराङ माथिल्लो टोलमा ५४, वडा ९ को घैराङमा ७४ तथा वडा १० को थिङडाँडामा २२ घरधुरीका लागि धारा जडान गरिनेछ। कुल तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा गाउँपालिकाले ९१ लाख ८२ हजार १३९ रुपैयाँ खर्च गर्नेछ।

वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले संस्था सन् २०१६ देखि नेपालमा खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै २० वर्षसम्म सुरक्षित पानी आपूर्ति गर्न सक्ने संरचना निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको बताए।

वास कन्सल्टेन्ट वासुदेव पाण्डेयका अनुसार छनाेट गरिएका सबै क्षेत्रमा बस्तीअनुसार आवश्यक संरचना (इन्टेक, डिसी र आरभिटी) निर्माण गरिनेछ। कोथलीटार–बस्तालमा पाँच इन्टेक, दुई डिसी र तीन आरभिटी, थिङडाँडामा एक इन्टेक, एक डिसी र दुई आरभिटी, वाक्सिराङ माथिल्लो टोलमा एक इन्टेक, एक डिसी र तीन आरभिटी, घैराङमा एक इन्टेक र तीन आरभिटी तथा मराङसिंह आगेटारमा एक इन्टेक, दुई डिसी र तीन आरभिटी निर्माण गरिने उनले जानकारी दिए।